सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कक्षा नौको परीक्षा सकेर रिता आफ्नो हजुरबुवासँग बसेर इन्टरनेट चलाइरहेकी थिइन्। जब उनले कैलाली, कनचनपुरतिर रानाथारूहरूले खुट्टाले छोएर खाना खान दिने चलनको बारेमा लेखेको कुरा देखिन्, उनको मनमा त्यस अनौठो चलनबारे जिज्ञासा जाग्यो।
त्यसैले, उनले आफ्नो हजुरबुवालाई त्यो कुरा देखाउँदै सोधिन्, 'हजुबा, यो हेर्नुस त, के यो ?'
हजुरबुवाले त्यस्तो हुन्छ भनेर जवाफ दिनुभयो।
'के तपाईलाई त्यसको बारेमा थाहा छ? किन त्यसो गरेका?' नातिनीले हजुबुवालाई सोधिन्।
उहाँले भन्नभयो, 'यो धेरै समय पहिलेको कुरा हो। रन्जित सिंहले चित्तोडमा हमला गरेर विजय प्राप्त गरेका थिए। उनले जितेको समाचार पाएपछि महलमा बस्ने राजकन्या र नोकरहरू कैलाली र कन्चनपुरको बाटो हुँदै नेपाल आइपुगे।'
'तिनीहरू नेपाल आएर के गरे ?' हजुरबुबाले बोल्दा बोल्दै नातिनी बिचमा बोलिन्।
'पख न। भन्दै छु त म। त्यसपछि राजकन्याहरूले नोकरसँग विवाह गरे,' हजुरबुवाले भन्नुभयो।
'विवाह गरे रे! किन नि त्यसो? त्यो पनि राजकुमारहरूले आफ्नै नोकरहरूसँग?' नातिनीले अचम्म मान्दै प्रश्न गरिन्।
'तिनीहरूले नेपालमा आफ्नो नोकरबाहेक कसैलाई पनि चिनेका थिएनन्। त्यसैले, आफ्नै नोकरसँग विवाह गरेका हुन्,' हजुरबुबाले हाँस्दै भन्नुभयो।
'अनि काम? खानाको लागि के गर्थे?' नातिनीले प्रश्न गरिन्।
'कामका लागि नोकरहरू दिउँसो यसो बाहिर जान्थे। अनि घरमा राजकन्याहरूले मिलेर खाना पकाउने गर्थे,' हजुरबुबाले नातिनीको प्रश्नको उत्तर दिनुभयो, 'पछि जंगल फाँडेर खेतीका लागि जमिन तयार पारे।'
'हजुरबुवा, हजुरले त मलाई खुट्टाले छोएर खाना दिने परम्परा बारेमा केही पनि भन्नुभएन त!' नातिनीले सोधिन्।
हजुरबुबाले भन्नुभयो, 'दरबारको परम्पराअनुसार नोकरलाई खाना हातमा दिने चलन थिएन। त्यसैले, राजकन्याहरूले खुट्टाले छोएर नोकरलाई खाना दिने गर्थे।'
नातिनी यो सबै कुरा सुनेर एकछिन अचम्ममा परिन्।
‘कसरी यस्तो सम्भव हुन्छ? अहिलेको जमानामा पनि खानाको अपमान हुने ढंगले खाना दिने चलन होला र!’ उनलाई लाग्यो।
'अनि, अहिले पनि यस्तो चलन छ र हजुरबुबा?' उनले सोधिन्।
'अहिले पनि कैलाली, कन्चनपुरतिर हामी गयौँ भने यसो गरेको देख्न सक्छौँ। कतिपय चलनहरू मिथक र इतिहाससँग जोडिएर आएका हुन्छन्। इतिहास र मिथक कहाँनिर एकाकार भएर जोडिन्छन्, थाहैँ हुँदैन। त्यसो त यहाँ जनताका इतिहास कहाँ छ र? राजा-महाराजाका मात्र इतिहास लेखिएका छन्,' हजुरबुबाले भन्नुभयो, 'इतिहास विजेताहरूको लेखिन्छ। पराजितहरू पनि यही समाजमा हुन्छन् तर उनीहरू गुमनाम हुन्छन्। निम्न तहका जनताको इतिहास त यस्तै मिथक, अनुश्रुति र चालचलनभित्रबाट खोज्नुपर्ने अवस्था छ।'
नातिनीलाई भने इतिहास खोज्नु भन्दा पनि त्यस ठाउँमा गएर त्यो चलन प्रत्यक्ष हेर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।
(ऋतम्भरा आचार्य हिमरश्मि हाईस्कुल, तारकेश्वर– ९, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)