सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
वन मान्छेको लागि सुविधा प्राप्त गर्ने साधन हो। जनावरहरूको लागि भने घर हो। उनीहरूका लागि जिउने माध्यम हो। मानिस यति विवेकशील, बुद्धिमानी भएर पनि उनीहरूका आवश्यकता किन बुझ्न सकिरहेका छैनन्?
के हामी कहिल्यै ती पीडित जनावर, बोटविरूवा र चराचुरूंगीको ठाउँमा आफूलाई राखेर हेर्छौँ त? सायद हेर्दैनौँ। किनभने हामीलाई आफ्नै स्वार्थ प्यारो छ। अरू प्राणी र बोटविरूवाको मतलब छैन।
जब म कक्षा ६ मा पढ्थेँ, वनको अवस्था एकदमै राम्रो थियो। वन बाक्लो थियो। वनमा वन्यजन्तु थिए। तर, पछिल्लो समय सडक निर्माणले गर्दा वनलाई एकदमै नराम्रो प्रभाव परेको छ। त्यहाँ रहेका केही साना नदीनालाको अस्तित्व नै हराएर गएको छ। यसक्रममा कति चरा मारिए होलान्! कति जनावर भोकै भएर मरे होलान्!
विकास निर्माणको लागि बजेट छुट्याएको मानिसले यस्तो कुरा सोचेको होलान् त? शंका लाग्छ। सोचेको भए अहिले वनको हालत यस्तो हुँदैनथ्यो। ठूलो विनाशकारी गाडी गुड्ने सडक निर्माण गर्नुको सट्टा पुरानो सानो बाटोलाई फराकिलो बनाई सिँढि निर्माण गरेको भए अहिले पनि ती नदीनाला, खोला, बोटविरूवा तथा निर्दोष जनावरलाई असर पर्दैन थियो होला। वनको हरियाली पनि रहन्थ्यो होला।
मलाई त यस्तो लाग्छ। मानिसलाई आफ्नो जीवन मात्र प्यारो छ। के अरूको जीवनको अर्थ हुँदैन? विवेकशील प्राणी भएर पनि हामी मानिसले किन यस्तो स्वार्थी व्यवहार गरेको? अरू जनावर बस्ने ठाउँमा पसेर किन हतियार प्रयोग गरेर मारेको? यो देख्दा अचम्म लाग्छ।
म पनि मानिस हुँ। मसँग पनि यस्ता खराब बानी छन्। म आफ्नो बानी सुधार्दै जानेछु र तपाईं पनि मसँग सुधार्दै जानुहुन्छ भन्ने आशा गर्छु। म सबैलाई अनुरोध गर्छु- भुमि, बोटविरूवा ती निर्दोष जीवको ठाउँमा आफूलाई राखि हेर्ने कोसिस गरौँ।
(सृष्टी घोङ्वा एडभान्स्ड एकेडेमी, कुमारीपाटी ललितपुरमा कक्षा ११ मा अध्ययनरत छिन्।)