सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कथा:
एकिकृत सुशासन र समुन्नतिको मार्गमा अघि बढ्दै थियो नेपाल। अवन्नतिको कालो छाँया पनि साथी स्वरूप नेपालसँग अघि बढ्दै थियो। पृथ्वीनारायण शाहको मृत्युपछि दरबारभित्र सुशासनको अनुशासन कायम हुन सकेन। राजदरबारमा अस्थिरता कायम भयो।
गिर्वाणयुद्ध विक्रम शाहपछि राजगद्दीमा राजेन्द्र विक्रम शाह राजा भए। राजेन्द्र महत्वकांक्षी थिए तर उनका नीति त्यति बलिया थिएनन्। राजेन्द्रले आफ्ना दुई श्रीमती साम्राज्यलक्ष्मी र राज्यलक्ष्मी बिचको आन्तरिक द्वन्द रोक्न नसकेकाले पनि उनका नीति कमजोर बनेका थिए। उता जंगबहादुरले सत्ता र शक्ति हत्याउन त्यहीँ दरबारभित्र कान्छी रानीको शुभचिन्तकको मुखौटो पहिरिएर बसेका थिए।
दुई रानी बिच आ-आफ्नो पुत्रलाई राजा बनाउने होडबाजी थियो। जंगबहादुरले त्यसलाई आफ्नो हतियार बनाए। उनको चर्तु¥यााइले राजाका शुभचिन्तक एक-एक गरेर टाढिन थाले। भिमसेन थापालाई राजाले अपदस्थ गरेपछि दरबारमा अस्थिरता बढेको थियो। माथवर सिंह थापालाई राजा र रानीलाई कठपुतली बनाएर जंगबहादुरले मारिदिए। साम्राज्यलक्ष्मीको पनि मृत्यु भयो।
त्यतिबेला दरबारभित्र कान्छी रानी र गगन सिंहको अवैध सम्बन्ध छ भने गाइँगुइँ चल्यो। जंगबहादुरलाई रानी र गगन सिंहको सम्बन्ध ‘के खोज्छस् कानो आँखो’ झै भयो। उनले आफ्नो भाइ-भतिजा बोलाएर एकदिन गुप्त सभा आयोजना गरे। उनका सबै पक्षधर आइसकेपछि जंगबहादुरले आफ्नो आँखा चनाखो पार्दे भने, 'अब हामीले आफ्नो शक्ति देखाउने बेला अइपुग्यो। सत्ता हात पार्न शक्ति देखाउनै पर्छ।' सबैले उसको कुरामा सहमति जनाए।
राजेन्द्र भने आफ्नो राज्यमा भइरहेको घटनाले चिन्तित थिए। उनले त्यही रात रानीसँग भने, 'मेरो मन असाध्यै विचलित छ। राज्यमा भइरहेको यो अस्थिरताले मलाई भित्र भित्रै खाइरहेको छ।'
रानीले अलि वास्ता नगरी आफ्नै तालमा जवाफ दिइन्, 'होइन, के भनिबक्सेको? राज्यमा सबै कुरा ठिकै छ त। हजुरले धेरै चिन्ता मात्र लिइबक्सेको हो।'
राजेन्द्रले फेरि निराश मुद्रामा सोधे, 'माथवरलाई मार्न लगाएर हामीले गल्ती त गरेनौं?'
रानी जुरूक्क उठेर भनिन्, 'हैन के भनिबक्सेको हजुरले? त्यो नोकरले हाम्रो रणेन्द्रको अधिकार सुरेन्द्रलाई दिलाई छाड्थ्यो। त्यो मर्नु भनेको राज्यको भलाई नै हो।'
उता जंगबहादुरले आफ्नो षडयन्त्रको जाल दरबारभित्र बिछ्याइसकेका थिए। उनको योजना रानीको प्रिय पात्र गगन सिंहलाई मारेर रानीलाई उत्तेजित बनाउने अनि हमला गर्ने थियो। त्यहीँ रात गगन सिंहलाई घरमा पूजा गरिरहेको बेला बद्रीनरसिंहले हत्या गरे।
रानी आफ्नो प्रिय पात्रको मृत्युको खबर सुनेर उत्तेजित भई भारदारी सभा बोलाइन्। राजा पनि चिन्तित भएर राजपुरोहितलाई बोलाए। पुरोहित हस्याङ्-फस्याङ गर्दै राजाकहाँ हाजिर भए र भने, 'महाराजको जय होस्। हजुरले मलाई कति कामले बोलाइबक्सिएको होला?'
राजाले चिन्तित हुँदै जवाफ दिए, 'हो गुरू। आजकाल हाम्रो राज्यमा बेग्लै किसिमको हावा चलिरहेको छ। लाग्छ यो हावाले संकटलाई संकेत गरिरहेको छ। के तपाई यसबारेमा केही भन्न सक्नुहुन्छ?'
पुरोहितले बाहिरको माहोल हेर्दै आफूले लिएर आएको शिलापट निकाले र धुले छरेर केही कोरकार गरे । एकछिन पछि राजालाई भने, 'हजुर महाराज। ज्योतिषशास्त्रले पनि राम्रो संकेत देखाइरहेको छैन। ग्रहदशा हेर्दा यो राज्यको सुशासनमा ठूलो ग्रहण लाग्ने संकेत देखिन्छ।'
राजा चिन्तित हुँदै बाहिर बार्दलीमा उभिए हेर्न थाले। आकाश कालो बादलले ढाकेको थियो। चराचुरूंगी पनि विचित्र तरिकाले कराइरहेका थिए। रानी भने भारदारी सभामा सबैलाई गगन सिंहको हत्यारा खोज्न आह्वान गरिरहेकी थिइन्। विक्षिप्त जस्ती बनेकी रानीको गतिविधि रोक्ने आँट राजामा थिएन। जंगबहादुरले कोत भित्र चक्रव्युह रचिसकेका थिए। त्यहाँ मान्छे भित्र जान सक्थ्यो तर निस्कन सक्थेन।
जंगबहादुरका तीन सय विश्वासिला सेनाहरूले कोत घरलाई घेरा हालेका थिए। रानीले जंगबहादुरलाई सभामा बोलाइन् र भनिन्, 'ए जंगे! हत्यारा को हो पत्ता लगा अनि तुरून्तै मेरो सामु त्यसलाई हाजिर गरा।'
रानीका सेनाहरूमाथि भने जंगबहादुरका सेनाले हमला गरिसकेका थिए। त्यतिकैमा एउटा सिपाही हस्याङ्-फस्याङ् गर्दै आयो र रानीलाई भन्यो, 'महारानी, जंगबहादुर गद्दार हुन्। उनको सेनाले हामीमाथि हमला गर्न थालेको छ।'
त्यो सुनेपछि जंगबहादुरले आफ्नो भाइलाई आँखा सन्काएर गोली हान्न आदेश दिए। सेनाको कुरा सुनेर अभिमान सिंह बाहिर निस्कन खोजे। जंगबहादुरको आदेशमा उनलाई संगीन रोपियो। उनले मर्दै गर्दा भने, ‘महारानी गगनको हत्यारा जंगे नै हो।’
जंगबहादुरका भाइहरू र राज चौतारिया बिच घमासान युद्ध भयो। करिब ६५ जनाको लासको थुप्रो लागेपछि कोतपर्वको मञ्चन सकियो। महाराजले जंगबहादुरलाई उसको इच्छाबमोजिम मुख्तियार र कमान्डर इन चिफ पद दिए। त्यसपछि राणा शासनको कालो बादलले पूरै नेपाल छोप्यो। शासनको आसनमा आसिन भएर राणाहरूले नेपाललाई आफ्नो कु-संस्कारको तालमा नचाए।
(रोजित आचार्य हिमरश्मि हाई-स्कुल, तारकेश्वर– ९, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छन्।)