सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
साथीहरू, एकछिन कल्पना गर्नुहोस् त!
तपाईंका दुवै हात चल्दैनन्। बोल्न पनि सक्नुहुन्न। खुट्टा चले पनि राम्ररी हिँडडुल गर्न सक्नुहुन्न। यस्तो अवस्थामा हामी के गर्छौं होला? स्कुलबाट दिने कक्षाकार्य तथा गृहकार्य कसरी गर्न सक्छौं होला?
हामीलाई कल्पना मात्रै गर्न पनि डर लाग्छ।
तर बाल्यकालदेखि यस्तै अवस्थाबाट हुर्किएर पनि महान काम गरेर नाम कमाउने एक चर्चित व्यक्तित्व हुनुहुन्छ। जसको शब्दकोषमा असम्भव भन्ने शब्द छैन होला। वहाँको नाम हो, साहित्यकार झमककुमारी घिमिरे।
कक्षामा सामाजिक विषय अन्तर्गत म्याडमले फिल्म ‘जीवन काँडा कि फूल’ देखाउनु भएको थियो। यो फिल्म साहित्यकार घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित छ। फिल्मको कथा झमकको बारेमा हो।
हुन त मैले उहाँको बारेमा पहिला पनि पढको थिएँ। तर फिल्म हेरेपछि उहाँप्रति मेरो सम्मान झनै बढ्यो। फिल्म हेरेपछि मलाई केही लेख्न मन लाग्यो। यो फिल्म विनोद विष्टले निर्माण तथा निर्देशन गर्नुभएको हो। फिल्ममा अवस्था थापा, रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी र मेनुका प्रधान मुख्य भूमिकामा हुनुहुन्छ। उहाँहरूसहित करिब ३० कलाकारले फिल्ममा अभिनय गर्नुभएको छ।
फिल्मका सबै गीत झमक आफैं र प्रकाश शिवाकोटीले लेख्नुभएको हो। प्रकाश शिवाकोटीकै संगीत रहेका गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर भर्नुभएको छ।
हातखुट्टा नचल्ने र बोल्न पनि नसक्ने झमककुमारी घिमिरे सानो छँदा घरपरिवार र समाजमा के-कस्तो दु:ख झेल्नुपर्यो र पछि ठूलो भएपछि उहाँले कसरी संघर्ष गर्नु भयो? कसरी त्यो अवस्थामा पनि महान लेखक बनेर सफलता पाउनुभयो भन्ने कुरालाई यो फिल्ममा देखाइएको छ।
फिल्म समग्रमा राम्रो छ। यो फिल्म हेरेपछि मलाई उहाँले कसरी सबै कुरा सहनु भयो होला? उहाँको बुबा–आमाले किन पिट्नु भएको होला? स्कुल नगएरै लेख्न-पढ्न कसरी सिक्नुभयो होला भन्ने लाग्यो।
हजुरआमाको निधन भएको दृश्यले मलाई निकै भावुक बनायो। उक्त दृश्य हेर्दा मलाई मेरो हजुरआमाको सम्झना आएको थियो।
फिल्ममा केही दृश्य नपच्ने खालका पनि छन्। सानी झमकले जतिबेला पनि वान्ता गरेको दृश्य मन नपर्ने खालको छ। सानो झमकलाई निकै कुटेको दृश्य पनि बालबालिकाका लागि उपयुक्त छैन।
जस्तोसुकै अवस्थामा पनि हरेश नखाई अघि बढ्नुपर्छ र शारीरिक अवस्थाले हाम्रो क्षमतालाई रोक्न सक्दैन भन्ने सन्देश फिल्मले दिएको छ।
(आगमन भट्ट पाठशाला नेपाल फाउण्डेसन बानेश्वर, काठमाडौंमा कक्षा ४ ‘बी’ मा अध्ययनरत छन्।)