सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
विज्ञान भनेको प्रमाणको आधारमा व्यवस्थित पद्धतिको अनुसरण गरी प्राकृतिक र सामाजिक संसारको ज्ञान र बुझाइको खोजी र प्रयोग हो। विज्ञानले सामान्य एवं आधारभूत ज्ञान तथा सत्यको खोजी गर्छ। अध्ययन विषयको आधारमा विज्ञानलाई विभिन्न शाखामा विभाजन गर्न सकिन्छ।
भौतिक विज्ञानले भौतिक संसारको, खगोल विज्ञानले ब्रम्हाण्डको, रसायन विज्ञानले रसायनिक तत्वहरूको, जीव विज्ञानले जैविक पक्षका विविध आयाम र यसका प्रक्रियाहरूको अध्ययन गर्छ। त्यसैगरी मानवशास्त्र, अर्थशास्त्र र राजनीतिक शास्त्र जस्ता सामाजिक विज्ञानहरूले मानव व्यवहारको सामाजिक, सांस्कृतिक तथा राज्य व्यवस्थाका पक्षहरूको अध्ययन गर्छ।
त्यसो त आमरूपमा विज्ञान भन्ने बित्तिकै रकेट, रसायन जस्ता जटिल, अमूर्त र प्राविधिक विषय मात्र हुन् भन्ने जड मान्यता रहेको पाइन्छ। तर विज्ञान त्यस्तो नभएर सामान्य ज्ञानलाई प्रमाणित गर्न तथा त्यस ज्ञानका विविध पक्षहरूको उजागर गर्न सकृय रहन्छ।
अतः विज्ञान मानव अस्तित्वभन्दा अघिदेखि थियो जसलाई मानव मस्तिष्कले उजागर गरिदियो। मानव जातिको सुरूआत भएसँगै विज्ञान पनि समयअनुसार विकास हुँदै गयो।
ढुंगेयुगमा विज्ञान भनेको ढुंगा तथा हड्डिबाट हातहतियार बनाउनु, आगो पत्ता लगाउनु, पात र छालाले शरीर ढाक्नु थियो। त्यसपछि आएको कृषि युगमा विज्ञान कुन अन्न खान हुने कुन नहुने, तिनीहरूको खेती कसरी गर्ने, जनावरहरूलाई के खुवाउने, कसरी पाल्ने, कपासबाट धागो बनाई लुगा बनाउन सिक्नु लगायत विषयमा केन्द्रित हुन पुग्यो।
जेम्स वाटले वाफबाट चल्ने इन्जिन बनाएर औद्योगिक युगमा विज्ञानको शंखघोष गरे। यस युगमा विज्ञान विविध प्रकारका मेसिनहरू बनाई त्यसलाई औद्योगिक प्रयोजनमा ल्याउन तल्लिन रह्यो। यसै समयमा हामीले आधुनिक विज्ञानको झल्को देख्न थाल्यौ।
विज्ञानको पछिल्लो कडीका रूपमा रहेको सूचना युग सन् १९७० को दशकदेखि सुरू भयो र आज पनि जारी छ। यस युगको सबैभन्दा ठूलो खोज भनेको कम्प्यूटर, मोबाइल, फोन र इन्टरनेट रहे। अतः यसलाई कम्प्युटर युग, डिजिटल युग वा नयाँ सञ्चार युग पनि भनिन्छ।
यो युगको क्रान्ति भनेकै सूचना र ज्ञानको श्रोतमा सजिलै सबैको पहुँच पुग्नु हो। यसै युगको पछिल्लो दशक विज्ञान रोबोट र आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित हुन पुगेको छ। यस युगले मानिसहरूको सोच्ने तरिका, काम गर्ने शैली, जीवन शैली, रोजगारीको विविधता, समय बचत गर्न, मनोरञ्जन, खाद्य उत्पादनमा वृद्धि जस्ता जीवनका आधारभूत पक्षमै आमूल परिवर्तन ल्याइदिएको छ।
कुनै पनि विषय पूर्ण हुँदैन। त्यसैले त विज्ञानको औचित्य रहन्छ। तसर्थ विज्ञानका सकारात्मक पक्षहरू मात्र छैनन्। कतिपय अवस्थामा विज्ञानलाई हानिकारक उद्देश्यका लागि प्रयोग गरेको पाइन्छ। गैरकानूनी तथा आतंकवादी गतिविधिहरू गरी आतंक फैलाउने, आणविक शक्ति र एटम बमको उत्पादनका कारण छाला लगायतका खतरनाक रोगहरू लाग्ने संभावना रहन्छ।
त्यसो त कतिपय अवस्थामा विज्ञान हातहतियारको माध्यमद्वारा मानिसको मृत्युको कारण पनि बनिरहेको हुन्छ। औद्योगिक विकाससँगै प्राकृतिक सुन्दरताको नाश हुनुको अलवा जलवायु र पर्यावरणमा गम्भिर असर परिरहेको हुन्छ।
अन्त्यमा, मानव जाती विज्ञानकै मद्दतबाट अहिलेको युगसम्म आइपुगेको हो भन्ने कुरामा कसैको दुई मत छैन। अब विज्ञानका विविध पक्षलाई विचार गर्दै यो अगाडि बढ्ने छ। अबको विज्ञान मुख्यतः मंगत ग्रह र चन्द्रमामा मानव बसोबास गराउने विषयमा केन्द्रित हुने लक्षण देखिन थालेको छ। जसमा संसारकै धनाढ्य इलोन मस्कदेखि वैज्ञानिकहरूको अग्रणी संस्था ‘नासा’ सम्म खोज र अनुसन्धानमा लागेका छन्।
अब विज्ञानले प्रगतिबाहेक अरू केही पनि गर्न जान्दैन। आउने दशकहरूमा विज्ञानले निकै ठूलो मोड लिनेछ र हाम्रो कल्पनाशक्तिको सीमितता माथि विजय हाँसिल गर्ने छ। तर एउटा कुरा ख्याल गरौं कि विज्ञानका आविष्कारहरू मानव जातीको प्रगतिका लागि बरदान हुनुपर्छ। मानवीय, वातावरणीय, सामाजिक र राजनीतिक ध्वंसका लागि होइन।
(रोमहर्षण ढुंगेल एभरेष्ट इंगलिस स्कुल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)