सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
सबै विद्यार्थीसँग परीक्षा दिने बेलाको डर र परीक्षा सकिएपछि नतिजा आउनुभन्दा अगाडिको समयको हल्कापनको अनुभव छ। म परीक्षा दिनुभन्दा अगाडि डराए पनि परीक्षा दिएपछि भने आफूले राम्रो गरेकी छु भन्ने लाग्थ्यो।
जब साथीहरू परीक्षा सकिएपछि उत्तरका विषयमा छलफल गर्थे, त्यतिबेला मलाई उक्त छलफलमा सामेल हुन मन लाग्दैन थियो। यदि मैले भाग लिएको भए मभित्र बाँकी रहेको प्रेरणा सबै नष्ट हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। जब सबै परीक्षाहरू सक्थे त्यतिबेला मलाई यस वर्षको एउटा चरण मैले पार गरेँ भन्ने लाग्थ्यो।
मैले मेरी साथी जसरी पहिले पनि घर गएर परीक्षाको प्रश्न पत्र हेर्दै आफ्नो अंक जोड्थे, मलाई त्यस्तो गर्न मन लाग्दैन थियो। यदि बिग्रेको रहेछ भने म दुखी हुन्छु भन्ने मलाई थाहा थियो। प्रश्न पत्र हेर्दै आफै अनुमान गर्दै नम्बर जोडेर चिन्ता बोक्नुभन्दा परीक्षा सकिएपछिको समयमा रमाइलो गर्दै नतिजा कुर्नु मलाई ठिक लाग्यो। कक्षा आठको वार्षिक परीक्षा सकिएपछि म नतिजाको पर्खाइमा थिएँ।
जब नतिजाको दिन आयो मेरो मनभित्र डर पैदा हुन थाल्यो। यदि परिणाम सोचेजस्तो आएन भने म के गर्ने? परीक्षा अगाडिको डरभन्दा पनि नतिजा कस्तो आयो होला भन्ने डरले सतायो। त्यस दिन मेरो बुबा रिजल्ट हेर्न विद्यालय जानुभयो। त्यति नै बेला मैले मेरी साथीको म्यासेज पाएँ। उनी निकै अब्बल विद्यार्थीमा गनिन्थिन्। तर उनको नतिजा आफूले सोचेभन्दा निकै नराम्रो आएको रहेछ।
मैले मेरा साथीलाई अर्को पटक राम्रो गर्न सकिन्छ नि भन्दै हौसला दिएँ। अर्कोतर्फ आफूलाई पनि डर लागिरहेको थियो। मेरो भविष्य बनाउन रातदिन नभनी मेरा लागि हाड छाला घोटिरहनुभएको बुबालाई मैले के भन्ने? उहाँको अपेक्षा पूरा गर्न सकिनँ भने म त गाउँमा भेडा, बाख्रा चराउन गए भैगो नि भन्ने जस्ता कुराहरू मनमा खेलिरहेका थिए।
त्यति नै बेला बुबाले मेरो मार्कशीट लिएर घरमा आउनुभयो। सुरुमा राम्रो गरेजस्तो लागे पनि मेरो नतिजा सोचेअनुसार आएन। मेरो नम्बर निकै कम आएको थियो। बुबाआमा मेराअगाडि बसेर 'किन निराश भएकी?' भनेर सोध्नुभयो। म केही बोल्न सकिनँ। मैले आफ्ना बुबाआमाले आशा गरे जस्तो नतिजा नल्याउँदा निकै निराश र दुखी थिएँ।
म दुखी भएको देखेर बुबाले मलाई थप हौसला दिनुभयो।
'हिँड्ने मान्छे नै त लड्ने हो नि,' सम्झाउँदै भन्नभुयो, 'लडेपछि उठेर हिँड्न सक्नु नै महानता हो, सबै मान्छे एकैपटक सफल भएका छैनन्, परीक्षामा फेल भएकाहरू पनि विश्वका महान् व्यक्तिहरू बनेका छन्।'
मलाई यसरी सम्झाएको देखेर म थप प्रेरित भएँ। आफूले कम नम्बर ल्याउँदा पनि मलाई हरेस नखाई अगाडि बढ्नुपर्छ भनेर सम्झाएपछि म निकै खुसी भएँ। आफ्ना निराश भएका बुबा, आमा र अंकलले मप्रति देखाउनुभएको आशा र भरोसालाई नतोडेर अब राम्रो परिणाम ल्याउन निकै प्रयास गर्नेछु भन्ने आँट गरेँ।
पहिलेजस्तो मोबाइलमा धेरै समय बर्बाद नगरेर आफूलाई थप राम्रो बनाउन मेहनत गर्नेछु। आफू जुन विषयमा कमजोर छु ती विषयहरूमा थप जोड दिएर आफूलाई सकेसम्म अझ राम्रो बनाउने प्रयास गर्नेछु। अब आफ्ना गल्तीहरूलाई सुधार्दै अगाडि बढ्नेछु। आफूले रोजेको सपनाको बाटोमा मेहनतका साथ लाग्नेछु। आफ्नो घर परिवार र आफन्तले गर्व गर्न लायक काम गर्ने आँट मलाई मेरो बुबाआमाले दिनुभएको छ।
धेरैका अभिभावकले परीक्षामा राम्रो नम्बर ल्याएन भन्दै बालबालिकालाई अनेकथरी गाली गर्ने गरेको देखेकी छु। तर मेरो असफलतालाई कमजोरी नमानी आगामी दिनमा सफल हुने बाटो देखाउनुभयो मेरो बुबाले। आफ्ना बालबालिकालाई सबै अभिभावकले यसरी बुझेमा उनीहरूको भविष्य उज्ज्वल हुन्छ।