सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
पुस्तक समीक्षाः
परिचय
‘खुसीको बिहानी’ बालकथा सङ्ग्रह हो। यसका लेखक सजनी नौबागे हुन्। यसभित्र १२ वटा स–साना कथा छन्। यी सबै कथा रमाइला र शिक्षा दिने खालका छन्। यस किताबको अन्तिम कथा ‘खुसीको बिहानी’ को समीक्षा यहाँ गरिएको छ।
कथावस्तु
भुँइचालोले घर भत्काइदिएपछि दुःखी भएको परिवारमा फेरि खुसी आएको कुरा यस संग्रहको कथावस्तु हो। भुँइचालोमा परेर एउटा घरका हजुरआमा र नातिनी समिता घाइते भएका हुन्छन्। उनीहरू अस्पतालबाट निको भएर घर आएपछि सबैजना खुसी हुन्छन्। समिताका बुवाले छिमेकीका सहायताले घर भत्केको ठाउँमा टहरो बनाएपछि झन् खुसियाली छाउँछ। हजुरआमाले भँइचालोमा परेर पनि सबैजना बाँच्न सफल भएकामा भगवानलाई धन्यवाद दिनुहुन्छ। हजुरआमाले नराम्रो समय वा मूलमा जन्मेकी भनेर समितालाई हेला गर्नुभएको हुन्छ। भुँइचालोमा हजुरआमालाई उसैले बचाएकी हुनाले उहाँ समितासँग माफ माग्नुहुन्छ। बुवाले समितालाई बहारी छोरी भन्नुहुन्छ। उनलाई सधैँ स्कुल पठाउने कुरा पनि हुन्छ। समिताकी बहिनी अमिताले भुँइचालोमा भाइलाई बचाएका कारण हजुरआमा उसलाई पनि बहादुर नातिनी भन्नुहुन्छ। पहिले हजुरआमालाई माया नगर्ने अमिता उहाँलाई माया गर्न थाल्छे। हजुरआमाको बानी परिवर्तन भएकाले सुशीला पनि त्यस घरमा काम गर्न आउँछे। श्यामे नोकर पनि रमाइलो कुरा गर्छ। त्यो परिवारका सबै जना रमाएर खुसीका साथ बस्छन्। यो पारिवारिक सामाजिक कथा हो। यसले हाम्रो समाजमा हुने घटना प्रस्तुत गरेको छ।
परिवेश
यस कथाको स्थानगत परिवेश कुनै गाउँ हो। गाउँको घर, टहरो, स्कुल, अस्पताल आदि स्थान यसमा आएका छन्। यसमा हजुरआमा, बुवाआमा, नातिनातिनीहरूसँगै बस्ने संयुक्त परिवारलाई देखाइएको छ। भुँइचालोले घर भत्काएर दुःख पाएको परिवारमा सबै कुरा मिलेपछि खुसी आएको अवस्थाको चित्रण गरिएको छ। भुँइचालोले घर भत्काएपछिको केही दिनको घटना यसमा समयका रूपमा आएको छ।
पात्रहरू
यस कथामा हजुरआमा, समिता, अमिता, बुवा, आमा, कुलदीप, सुशीला, श्यामे, छिमेकी, आदि पात्र आएका छन्। समिता, अमिता र कुलदीप बालपात्रहरू हुन्। यस कथामा आएका पात्रहरूमध्ये हजुरआमा र समिता मुख्य पात्र हुन्। उनीहरूको धेरै भूमिका छ। बुवा, आमा र अमिता सहायक पात्र हुन्। अरू सबै गौण पात्र हुन्। यस कथामा सबै असल पात्र मात्र छन्। खराब पात्र कोही छैनन्।
निष्कर्ष
‘खुसीको बिहानी’ सन्देशमूलक कथा हो। यसले हाम्रो समाजको घटना देखाएको छ। हामीलाई राम्रो शिक्षा दिएको छ। हामी जस्तै साना केटाकेटीलाई पनि पात्र बनाइएको छ। उनीहरूलाई माया गर्नुपर्छ भन्दै यसो गर्दा उनीहरू असल मार्गमा हिँड्छन् भन्ने सन्देश यस कथाले दिएको छ। यो कथा पढेर धेरै ज्ञान वा जानकारी पाइन्छ।
सन्देश
‘खुसीको बिहानी’ कथाले हामी दुःखमा आत्तिएनौँ भने खुसीको बिहानी आउँछ भन्ने सन्देश दिएको छ। त्यस्तै भुँइचालो आउँदा घरबाट सुरक्षित ठाउँमा गएर बस्नुपर्छ र अरूलाई पनि सहयोग गरेर बचाउनु पर्छ भनेर शिक्षा दिएको छ। कसैलाई पनि हेला गर्नुहुँदैन र साना केटाकेटीलाई झन् माया गर्नुपर्छ। यसो गरियो भने उनीहरू असल मार्गमा हिँड्छन्।
(अनुप्रस्थ लुइटेल डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)