आजबाट आवेदन खुलेको शिवम् सिमेन्टको सेयरमा पहिलो दिन ७ लाख ४३ हजार कित्ताका लागि आवेदन परेको छ। बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार २२ करोड २९ लाख रुपैयाँ बराबरको सेयर माग भएको छ।
अंकित मूल्य १ सयमा २ सय प्रिमियम थप गर्दै ३ सय रुपैयाँका दरले कम्पनीले सेयर आवेदन खुल्ला गरेको हो। कुल ४१ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। न्यूनतम ५० कित्ता तथा अधिकतम ५ लाख ७९ हजार ६४० कित्ताका लागि आवेदन दिन सकिनेछ। चाँडोमा फागुन ९ गतेसम्म र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ।
आफ्नो खाता भएको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट आवेदन दिने सकिनेछ। सेयर प्रत्याभुतिकर्तामा ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल तथा सिबिआइएल क्यापिटल रहेका छन्।
साथै कम्पनीले प्रभावित स्थानीयका लागि २ सयका दरले आवेदन दिन सक्ने व्यवस्था गरी बिक्री खुला राखेको छ। प्रत्येक्ष उत्पादनमुलक क्षेत्रबाट पहिलो पटक शिवम् सिमेन्ट उद्योगले सर्वसाधारणका लागि सेयर आवेदन खुलाएको हो।
शिवमले दैनिक ३ हजार टन सिमेन्ट तथा १९ सय टन क्लिङ्कर उत्पादन गर्दै आएको छ। कम्पनीले होङ्सी सिमेन्ट उद्योगमा पनि लगानी गरेको छ। सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने क्षमता छ।