ठूला भौतिक पूर्वाधार आयोजनाका लागि निर्माणा सामग्री अभाव हुने अवस्था आएको भन्दै नयाँ स्रोत खोज्नुपर्ने मन्त्रीहरुले औल्याएका छन्। संघीय वन तथा वातवरण मन्त्री शक्ती बहादुर बस्नेत र पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले नदिमै भर पर्दा ठूला विकास निर्माण रोकिने अवस्था आउनेतर्फ सचेत गराएका छन्।
आज राजधानीमा सम्पन्न विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनीहरुले नदि र खोलामै भर पर्दा एकातिर ठूला आयोजनालाई अभाव हुने अर्कोतिर वातवरणामा गम्भिर क्षति पुग्ने धारणा राखेका थिए।
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले वालुवा गिट्टीका लागि नदिको बिकल्प नखोज्ने हो भने चरम अभाव बताए। बुटवल नारायणघाट सडक विस्तार आयोजनालाई नै वालुवा गिट्टीको अभााव हुन थालेको उनले जानकारी दिए।
'नदिमा आधारित निर्माणजन्य सामग्री अब सम्भव छैन। बृहत् निर्माणमा जाँदा यसले धान्दैन। त्यसैले खानी पहिचान गर्नेतिर जानुपर्छ। खानीबाट उत्खनन् नगरी हुँदैन' उनले भने।
संघीय वन तथा वातावरण मन्त्री बस्नेतले नदि र खोलामात्र दोहन गर्दा एकातिर बृहत विकासका लागि पर्याप्त नहुने अर्कातिर वातावरणीय सन्तुलनमै गम्भिर असर देखाउन थालेको बताए।
'वातवरणीय दोहनले जलचक्र ध्वस्त बनाउँदै लिएको छ,यसले हाम्रो विकासको आवस्यकतालाई धान्ने पनि होइन।अहिले त यसले प्रकोपकै रुप लिने खतरा बढीरहेको छ। हामीले यसको विकल्प खोज्ने बेला भइसक्यो' उनले भने।