नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ। सिमेन्टमा लगानी बढ्दै गएपछि उत्पादन बढेर मुलुक आत्मनिर्भर बनेको हो।
सिमेन्टमा मुलुकको आत्मनिर्भरता घट्दो आयात र बढ्दो आन्तरिक उत्पादनमा पनि प्रतिबिम्बित भएको छ।
पहिलो कुरा आयात हेरौं। विदेशबाट आयात हुने सिमेन्टको पछिल्ला वर्षमा क्रमश: घट्दै गएर अहिले नगन्य छ। गएको तीन वर्षदेखि सिमेन्टको आयात वर्षभरमा दुई अर्बमाथि पुगेको छैन। जबकी सिमेन्टको आन्तरिक बजार दुई खर्ब बराबरको छ।
यो सानो परिणामको सिमेन्ट आउनुको पनि कारण छ- नेपालमा बन्ने ठूला परियोजनामा ४३ र ५३ ग्रेडको सिमेन्ट चाहिन्छ। नेपालमा अहिलेसम्म यी ग्रेडका सिमेन्टको गुणस्तर नाप्ने गरिएको छैन। त्यसैले अहिलेसम्म भारतबाट आउने ४३ र ५३ ग्रेडको सिमेन्ट प्रयोग हुँदै आएको छ
गुणस्तर तथा नापतौल विभागले यी ग्रेडका सिमेन्टको पनि गुणस्तर नाप्ने तयारी गरिरहेको छ। यही महिनाभित्र काम सुरू गर्ने विभागको तयारी छ। त्यसपछि अहिलेको सानो परिणामको सिमेन्ट आयात पनि घट्ने छ।
पछिल्लो समय सिमेन्टको माग घट्दै गएकाले पनि आन्तरिक बजारमा माग सजिलै पूरा गर्न सम्भव भएको हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार पछिल्लो समय सिमेन्टको मागमा ५० प्रतिशतसम्मले गिरावट आएको छ। एकातिर भूकम्पपछिको पुनर्निर्माण सकिँदै छ। अर्कातिर विकास निर्माणका आयोजनाले गति लिन सकेका छैनन्।
‘निर्माण व्यवसायीको काम नै सिमेन्ट र रडसँग हुन्छ। अर्को प्रकारले ठूला उपभोक्ता नै हामी हौं। हाम्रो बुझाइमा अहिले अधिकतम् माग धान्न सक्ने क्षमता नेपाली उद्योगसँग भइसकेको छ। तर पछिल्लो समय माग पनि उत्तिकै घटेको छ,’ सिंहले भने।
आत्मनिर्भर भयौं कि भएनौं भन्ने अर्को मापक हो- माग र उत्पादन क्षमता।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार स्वदेशी मागलाई धान्न सक्ने उत्पादन अहिले भइरहेको छ।
संघका अनुसार देशको सिमेन्टको माग करिब १० लाख मेट्रिक टन छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सिमेन्टको उत्पादन क्षमता भने वार्षिक १४ लाख ९६ हजार मेट्रिक टन पुगेको छ। अर्थात् सिमेन्टको मागको तुलनामा करिब ५ लाख बढी क्षमता रहेको छ।
संघले नेपालमा सिमेन्टको माग वर्षमा १० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा गएको वर्षमात्र १० लाख टनभन्दा बढी सिमेन्ट उत्पादन भएको छ। उत्पादनका हिसाबले सिमेन्टमा नेपाल आत्मनिर्भर भएको छ।
सिमेन्टमा नेपाल आत्मनिर्भर भए पनि यसलाई बचाएर उपभोक्तालाई अधिकतम लाभ दिन धेरै काम गर्न बाँकी रहेको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाको भनाइ छ।
'सिमेन्टमा हामी आत्मनिर्भर भइसकेका छौं। क्लिंकर पनि आवश्यक मात्रामा उत्पादन गर्नसक्ने हाम्रो क्षमता विकास भइसकेको छ। तर अहिलेको उत्पादन वृद्धिलाई निरन्तरता लिएर दीगो बनाइराख्नु हामी सबैको चुनौती हो,' मुरारकाले भने।
वार्षिक करिब २ खर्बको बजार रहेको सिमेन्टमा स्वदेशी उत्पादनले नै पुग्ने भएपछि कतिपय उद्योगले निर्यातको योजना पनि बनाउन थालेका छन्।
ठूलो लगानीका सिमेन्ट उद्योग निर्माणाधीन भएकाले अबको केही वर्षभित्र आवश्यकताभन्दा धेरै उत्पादन हुने भन्दै पूराना उद्योगीले थप लगानीको आवश्यकता नभएको कतिपयले तर्क गर्न थालेका छन्।
यद्यपी नेपालजस्तो विकास हुन धेरै बाँकी देशमा सिमेन्टको माग बढ्दै जाने कतिपय व्यवसायीको तर्क छ।
सिमेन्टमा आत्मनिर्भर हुनुको कारण सरकारले उद्योगीलाई संरक्षण दिएको छ। विदेशी सिमेन्टको आयातमा भन्सार बढाइदिएपछि स्वदेशी उत्पादन बढ्न थालेको हो।
पछिल्लो समय स्वदेशी उत्पादन धेरै भएपछि त्यसको लाभ उपभोक्ताले पनि पाउन थालेको मुरारकाको भनाइ छ। गएको वर्षभन्दा सिमेन्टको मूल्य घटेको स्मरण गराउँदै अझै लाभ पाउन उत्पादन लागत घटाउने वातावरण राज्यले निर्माण गर्नु पर्ने उनले बताए।
'अहिले पनि सिमेन्टको मूल्य त घटिरहेको छ। तर योभन्दा अझै उपभोक्तालाई लाभ दिन उत्पादन लागत न्यूनीकरण हुनुपर्छ,’ उनले भने।
बिजुलीको मूल्य घटाउनु पर्ने, खानी सञ्चालनमा लाग्ने थरीथरीका रोयल्टीको झन्झट कम गर्नु पर्ने उनको माग छ।
'यो भएपछि उपभोक्ताले लाभ पाउनेमात्र होइन हामीले विदेश निर्यात पनि गर्नसक्छौं,' उनले भने।
सिमेन्ट उत्पादन लागतमा ३० देखि ३५ प्रतिशत हिस्सा बिजुलीको हुने उनको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहका अनुसार नेपाली बजारमा सिमेन्टको मूल्य गएको पाँच वर्षकै न्यून भएको छ। बजारमा मागको तुलनामा उत्पादन धेरै हुँदा स्वभाविक रूपमा मूल्य घटेको उनको भनाइ छ।
'सिमेन्टको उत्पादन देशमा धेरै भयो मागभन्दा। त्यसको लाभ अहिले उपभोक्ताले पाउन थालेका छन्। हाम्रो अध्ययन अनुसार गएको पाँच वर्षमै सिमेन्ट अहिले सस्तो भएको छ,' सिंहले भने।
उनका अनुसार गएको एक वर्षमा मात्र सिमेन्टको मूल्य १५ प्रतिशतसम्म घटेको छ। अन्य निर्माण सामग्रीको मूल्य पनि यही अनुपातमा घटेको उनको भनाइ छ।
क्लिंकर उत्पादन पनि बढ्दो
सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ क्लिंकर चाहिन्छ। पछिल्ला वर्षमा क्लिंकरको आयात घट्दै गएको छ। यसको पनि आन्तरिक उत्पादन बढेर आयात घटेको हो।
उत्पादनका हिसाबले नेपाल क्लिंकरमा पनि आत्मनिर्भर भइसकेको छ। तर पनि मुल्यका कारण भारतीय क्लिंकरको आयात भने जारी छ।
अहिले नेपालमा २ सरकारीसहित ५४ सिमेन्ट उत्पादन गर्ने प्लान्ट छन्। त्यसमा १८ ओटालेमात्र सिमेन्ट र क्लिंकर उत्पादन गर्छन्। बाँकीले क्लिंकर खरिद गरेर सिमेन्ट बनाउँछन्।
क्लिंकर खरिद गरेर सिमेन्ट बनाउनेले नेपाली बजारको तुलनामा भारतबाट सस्तो पाउनेबित्तिकै आयात गर्छन्। त्यही कारण आयात कायमै रहेको उद्योगीको भनाइ छ।
क्लिंकरको आयात भने वर्षेनी घट्ने क्रममै छ। गएको वर्षको तुलनामा यो वर्षको तीन महिनामा ३ अर्बले आयात घटेको छ। अघिल्लो वर्ष साउनदेखि असोजसम्म ४ अर्बको आयात भएकोमा यो वर्ष जम्मा १ अर्बको आयात भएको छ।