नेपाल सरकारले हरेक वर्ष दिने गुणस्तरको प्रमाणपत्र जगदम्बा सिमेन्टले पाएको यो तेस्रो वर्ष हो। यसअघि दुई वर्ष लगातार उक्त प्रमाण पत्र जगदम्बा सिमेन्टले नै पाएको थियो।
ओपिसी, पिपिसी र पिइसी गरी तीनै प्रकारको सिमेन्ट उत्पादन गर्ने जगदम्बा नेपालकाे एक मात्र सिमेन्ट कम्पनी पनि हो। अर्काेतिर भुकम्पपछि ह्वात्तै उकासिएको सिमेन्ट उद्योग पुर्ननिर्माण सकिँदै गएपछि सुस्ताउन थालेको छ।
के अब नेपालमा सिमेन्ट उद्योगको भविष्य छैन? के नेपालको सिमेन्ट विदेश निर्यात गर्न सकिदैंन? यस्तै विषयमा सेतोपाटीले जगदम्बा सिमेन्टका विक्रीतर्फका उप महाप्रबन्धक रोशनकुमार पाठकसँग गरेको कुराकानीका अंशः
भुकम्प गएसँगै ह्वात्तै बढेको सिमेन्टकाे बजार पछिल्लो समय सुस्ताएको पाइयो, सिमेन्ट उद्योगको भविष्य संकटमा परेको हो?
पछिल्लो समय निर्माणमा सुस्तता आएको पक्का हो। जसको प्रभाव बजारमा देखिन्छ। तर, भविष्य नै संकटमा रहेको होइन। अर्काेतर्फ बजारमा ठूलो हिस्सा ओगटेको र पुरानो कम्पनी भएकाले त्यो मन्दीको प्रभाव हामीलाइ परेको छैन। स्थापित संस्था भएपछि असर कम पर्ने रहेछ।
भुकम्पपछि सबै सिमेन्ट कम्पनीले राम्रो व्यापार गरे। त्यसलाई व्यवसायीले सिमेन्टको माग दिर्घकालीन रुपमा बढेको ठाने। हाल नेपालको व्यापार भूकम्पअघिकै अवस्थामा फर्केको छ।
निर्माणाधीन आयोजनाको भुक्तानी नहुँदा र सरकारीस्तरका ठूला पूर्वाधारको ठेक्का नलाग्दा बजारमा सुस्तता देखिएको हो। यसले बजारमा सिमेन्टको खपत कम भएको छ।
यसबीचमा धेरै नयाँ उद्योग स्थापित भए। ती उद्योग थपिँदा स्थापित उद्योगको लागि कस्ता चुनौति हुने रहेछ ?
बजारमा नयाँ उद्योगहरु आएपछि प्रतिस्पर्धा स्वभाविक रुपमा बढ्छ। नयाँ उद्योग आएर चुनौति थपियो भन्ने होइन।
हामी गुणस्तरीय उत्पादनमा प्रतिवद्ध छौं। नयाँ उद्योग उत्पादनमा मात्रै नभएर गुणस्तरमा पनि प्रतिस्पर्धा गरेमा चुनौति बन्न सक्थ्यो। उपभोक्ताको दृष्टिकोणबाट हेर्दा नयाँ उद्योग थपिनु फाइदाकै कुरा हो।
जुन उद्योगले गुणस्तरीय सिमेन्ट उत्पादन गर्छ सोही सिमेन्ट उपभोक्ताले मन पराउँछन्।
गुणस्तरीय सिमेन्ट उत्पादन गर्न दबाब पनि पर्छ। गुणस्तरमा हामी अब्बल छौं। सरकारले दिएको गुणस्तरको प्रमाण पत्र हाम्रो अर्काे प्रमाण हो।
गुणस्तरीय सिमेन्ट कसरी चिन्ने? जगदम्बाले गुणस्तर कसरी कायम राखेको छ?
विशेषगरी सिमेन्टको गुणस्तर ग्रेडका आधारमा हुन्छ। ग्रेड भनेको सिमेन्टको भार बहन क्षमता हो। नेपालमा ३३, ४३ र ५३ गरी तीन ग्रेडका सिमेन्ट उत्पादन हुन्छ।
नेपाल गुणस्तर विभागले पनि सिमेन्टको गुणस्तर परीक्षण गर्छ।
सिमेन्टमा केमिकलदेखि कच्चा पदार्थको मिश्रण पनि मिलाउनु पर्छ। विभागको परीक्षणले नै हामीलाई तीन पटकसम्म लगातार गुणस्तरको प्रमाणपत्र दिएको छ।
धेरै उद्योगले आफ्नो उत्पादनलाई गुणस्तरीय भन्छन्, त्यसलाई प्रमाणित गरेर देखाउनुपर्छ।
कच्चा पदार्थ, त्यसको स्रोत, मापदण्ड र प्रयोग गरिरहेका उपभोक्ताबाट सिमेन्टको गुणस्तर कस्तो छ भन्ने थाहा हुन्छ। यस्तो गुणस्तर हामीले सुरुवात देखि नै कायम गरिरहेका छौं।
सिमेन्ट उद्योग यति धेरै छन्, नेपालबाट सिमेन्ट विदेश निर्यात गर्न सकिदैंन?
सकिन्छ। तर, नेपालको सबैभन्दा ठूलो समस्या भौगोलिक अवस्था हो। विशेषगरी भारतमा सिमेन्ट निर्यात गर्ने प्रशस्त संभावना छ। ढुवानीको समस्याले भने लागत महंगो पर्छ।
त्यसका लागि सस्तो ढुवानी हुनुपर्छ। दोस्रो, नीतिगत सुधार आवश्यक छ। नेपालबाट भारतमा सिमेन्ट निर्यात गर्दा कर र सहुलियत सुविधा दिनुपर्छ।
अहिले नेपालमा भइरहेको उत्पादन लागतमा सिमेन्ट निर्यात गर्न सकिदैंन। भारत र चीन दुवै देशले ठूलो मात्रामा उत्पादन गरिरहेका छन्।
अर्को संभावना नेपालसँग जोडिएको भारतीय सिमानामा सिमेन्ट उद्योग नहुनु हो।
नेपालका प्राय उद्योग भारतको सिमाना नजिकै छन्। यसरी हेर्दा भारतीय सीमा क्षेत्रमा नेपाली सिमेन्टको राम्रो बजार हुनसक्छ।
नेपाल र भारत सरकारले यसलाई प्रथमिकतामा राखेर नीतिगत सुधार र सहुलियत दिन सके सिमेन्ट निर्यात गर्न सकिन्छ।
सिमेन्टका विज्ञापनमा ठाउँ–ठाउँका चुनढुङ्गा खानी लेखेको देखिन्छ, चुनढुङ्गा खानीले सिमेन्टको गुणस्तरमा असर पर्छ?
त्यो मार्केटिङको कला प्रस्तुत गरेर ग्राहकलाई आकर्षण गरेको मात्रै हो। नेपालमा अधिकांश चुनढुङ्गा खानीहरु उस्तै प्रकारका छन्। जसले गुणस्तरमा फरक पार्दैन। नेपालमा भेटिएको सबै क्षेत्रको चुनढुङ्गाले गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ।
पछिल्लो समयमा नेपालमा सिमेन्टको मूल्य घटेको छ। तर, उद्योगहरुले उत्पादन क्षमता बढाइरहेका छन्। यो कसरी संभव भयो?
मूल्य घटबढसँग उत्पादन क्षमताको कुनै असर पर्दैन।
२०७२ देखि ०७४ सम्म भुकम्पले सिमेन्टको माग बढ्यो र सिमेन्ट उद्योग ‘मास प्रोडक्सन’मा गए। उनीहरु उत्पादन बढाउने र त्यसले मार्केट शेयर बढाउनेतर्फ चासो दिएको देखियो।
साथै सबै उद्योगले उत्पादन क्षमता बढाए र प्रति युनिट उत्पादन घट्यो। सोहीकारण प्रति बोरा सिमेन्टको मूल्य घट्यो। मूल्य घट्नु र बढ्नु उत्पादन र मागमा हुने अन्तक्रृया हो।
जुन बेलामा माग कम थियो घट्यो। अहिले बजारमा सिमेन्टको माग कम छ उत्पादन धेरै छ त्यसैले मूल्य घटेको हो।
सिमेन्टमा आत्मनिर्भर भएपनि क्लिङ्कर भारतबाटै ल्याइरहेको छौं, किन?
हो, अहिले पनि क्लिङकर केही मात्रामा भारतबाट आयात हुन्छ। तर, त्यसको मात्रा धेरै छैन। नेपालमा क्लिङ्कर उत्पादन गर्न लागत बढी भएकाले उत्पादन थोरै छ। नेपाल क्लिङ्करमा आत्मनिर्भर हुन अझै समय लाग्छ।
सिमेन्ट किन्दा के–केमा ध्यान दिनुपर्छ? चाहिएको सिमेन्ट कसरी छान्ने?
सबैभन्दा महत्वपूर्ण सिमेन्ट सधैं फ्रेस प्रयोग गर्नुपर्छ। सबै कम्पनीले सिमेन्टको बोरामा उत्पादन मिति र उपयोग गरिसक्नुपर्ने मिति लेखिएको हुन्छ।
त्यसलाई ध्यान दिएर सिमेन्ट खरिद गर्नुपर्छ। फ्रेस सिमेन्टले गुणस्तर बढाउँछ। तीन महिनापछि सिमेन्टको क्षमता विस्तारै ह्रास हुँदै जान्छ। कहिलेकांही स्टोरमा पुरानो सिमेन्ट हुनसक्छ। त्यसैले कस्तो स्टोरबाट सामान किनेको याद गर्नुपर्छ।
सिमेन्ट खरिद गर्नुपूर्व इन्जिनियरसँग सल्लाह गर्नु आवश्यक छ। कुन संरचनामा कस्तो सिमेन्ट प्रयोग गर्ने उनीहरुले सल्लाह दिन्छन्।
अर्काे, सिमेन्टको ‘फाइननेस’ हो।
सिमेन्ट छान्नु पूर्व उपभोक्ता जागरुक हुनुपर्छ। उपभोक्ता आफैं यस विषयमा जिज्ञाशु भए त्यसले जानकारी दिन सहयोग गर्छ। हामील पनि ‘हाम्रो घर’ मोबाइल एप बनाएका छौं।
त्यसले सिमेन्टको गुणस्तर र घर बनाउँदा थाहा पाउनुपर्ने कुरा जानकारी दिन्छ।
उपभोक्ताले खरिद गर्ने वस्तुलाई क्रस चेक गर्नुपर्छ। कुनै पनि कम्पनीले भनेको आँखा चिम्लेर विश्वास गर्नु हुँदैन। जुन विषयमा इन्जिनियरदेखि अनुभवीसँग राय सल्लाह पनि लिनुपर्छ।
सिमेन्ट प्रयोग गर्दा पाउने सुविधाबारेमा बुझ्नुपर्छ। स–साना वस्तुको लोभमा परेर जिवनमा एकपटक बनाइने घरलाई सम्झौता गर्नुहुँदैन।
अहिले सिमेन्ट बजारको प्रतिस्पर्धा कस्तो छ?
हामी उपभोक्तालाई केन्द्रमा राखेर काम गरिरहेका हुन्छौं।
त्यसैले प्रतिस्पर्धा भन्दा ग्राहकको सन्तुष्टिलाई ध्यान दिन्छौं। आम उपभोक्तालाई गुणस्तरीय सेवाबाट सन्तुष्ट पार्नसक्ने कार्यक्रम पनि ल्याइरहेका छौं।
प्रतिस्पर्धा कोसँग भन्दा कस्तो प्रतिस्पर्धा भन्ने हुन्छ। बजारमा हामी ओपिसी, पिपिसी र पिइसी सिमेन्ट उत्पादन गर्ने जगदम्बा मात्रै हो। त्यसैले, नेपालमा प्रतिस्पर्धा छैन।
निर्माणधिन संरचना भत्किएको सुनिन्छ, यसमा सिमेन्ट उद्योगहरु जिम्मेवार हुनुपर्छ कि पर्दैन?
यस्तो सामाचर सुन्दा नराम्रो लाग्छ।
उपभाक्तालाई पनि सिमेन्टको कारणले भत्केको हो कि भन्ने भ्रम पर्छ। ठूला वा साना संरचना बनाउँदा सबैभन्दा पहिला डिजाइनले प्रभाव पार्छ।
काठमाडौंमा पनि केही पुलहरु बन्दाबन्दै भत्किएका छन्। त्यो, सिमेन्ट भन्दा पनि डिजाइनका कारण कमजोर भएको हो।
सिमेन्टको काम फलामलाई बाँध्ने हो।
तर, फलाम नै छुट्टिनु डिजाइनकै समस्याले गर्दा हो। कुनै पनि संरचनाको डिजाइन गनुअघि इन्जिनियरसँगको सल्लाह लिनुपर्छ।