हालसम्म ३३ ग्रेडकोमात्र उत्पादन हुँदै आएको ओपिसी सिमेन्ट अवदेखि ४३ र ५३ ग्रेडमा मात्र उत्पादन हुने भएको छ।
नापतौल तथा गुणस्तर विभागले आफ्नो गुणस्तरबाट ओपिसी सिमेन्टका लागि ३३ ग्रेड हटाउने भएको छ।
४३ र ५३ ग्रेडका लागि मापदण्ड निर्धारण गरिसकेको विभागले राजपत्रमा प्रकाशित भएपछि गुणस्तर प्रमाणपत्र दिन सुरु गर्ने छ। त्यसपछि ओपिसी सिमेन्ट ३३ ग्रेडमा उत्पादन नहुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
बजारमा एउटै प्रकारको सिमेन्टको उपल्लो ग्रेडमा आएपछि तल्लो ग्रेडको उत्पादन आफै विस्थापित जाने भएकाले विभागले ग्रेडिङ नै हटाउने तयारी गरेको हो।
तर यसमा केही समय लाग्ने छ।
पिपिसी र पिएस्सी सिमेन्ट भने ३३ ग्रेडमै उत्पादन हुने छन्।
भारतबाट ल्याउनै पर्ने बाध्यता हट्ने
नेपालको आवश्यकता पुरा गर्न सक्ने उत्पादन क्षमता हुँदाहुँदै पनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था अब हट्ने भएको छ। ठूला आयोजना निर्माणको लागि ४३ र ५३ ग्रेडको सिमेन्ट आवश्यक पर्ने सरकारी व्यवस्था छ तर नेपाली उद्योगीहरुले त्यस्तो ग्रेड राखेर उत्पादन गर्ने मापदण्ड नभएकोले सिमेन्ट आयात गर्नुपर्ने बाध्यता रहेको थियो।
गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संसोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था लागू भएपछि सो ग्रेडको सिमेन्ट आयात गर्नैपर्ने बाध्यता हट्ने भएको हो।
लामो समयदेखि नेपाली उद्योगीहरुले सोही व्यवस्थाको लागि सरकारलाई दबाब दिँदै आएको भए पनि अहिले आएर ४३ र ५३ ग्रेडको व्यवस्था भएको हो।
नयाँ मापदण्ड आएपछि नेपालमा ग्रेडकै कारणले विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने व्यवासयीहरुको अनुमान छ। प्रत्येक वर्ष सिमेन्टको आयात घट्दै गएको र जति आयात भइरहेको छ त्यो पनि ग्रेडकै कारण आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरुको भनाइ छ।
अहिलेसम्म नेपालमा जतिसुकै गुणस्तरको सिमेन्ट उत्पादन गरेपनि त्यसको ग्रेड भने ३३ मात्र हुने व्यवस्था रहेको थियो। अधिकांस उद्योगका उत्पादन पनि ५३ ग्रेडभन्दा कम नरहेपनि नेपालमा मापदण्ड नभएकोले ३३ नै लेख्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ।
त्यस्तै अधिकांश निजी कम्पनीहरुले पनि ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको बताउँदै आएका छन्।
नेपालमा पहिले पनि ४३ वा ५३ ग्रेडको सिमेन्ट उत्पादन भएपनि त्यो प्रमाणीत गर्ने कुनै निकाय नहुदाँ त्यसले मान्यता नपाएको तर अब प्रमाणीकरणको व्यवस्था भएको नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
के हो ग्रेड ?
सिमेन्टको ग्रेड निर्धारण भनेको उक्त सिमेन्टको भारबहन क्षमता हो। कति अवधिमा कति लोड बहन गर्नसक्छ भन्ने मापन नै ग्रेड हो। सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ नै ग्रेड हो। जसले भार बहन गर्नसक्ने बल र समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ। ५३ ग्रेड भनेको ५३ एमएम लोड प्रती वर्ग सिएम बहन गर्न सक्ने बुझिन्छ।