निषेधाज्ञा खुकुलो हुनासाथ निर्माण सामग्रीको भाउ बढेको छ। निषेधाज्ञाबीच उपत्यका लगायत धेरै जिल्लामा निजी तथा सार्वजनिक निर्माणको काम रोकिएको थियो। माग घटेपछि निर्माण सामग्रीको मूल्य केही घटेको थियो। तर निषेधाज्ञा खुकुलो हुनासाथ केही निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ।
व्यवसायीहरूका अनुसार अहिले गिटी–बालुवा, डन्डी तथा स्टिल, प्लास्टिकका पाइपजन्य सामग्रीमा अत्यधिक मूल्य बढेको छ।
निषेधाज्ञा अघिसम्म प्रति ठूलो टिपर पच्चीस–छब्बीस हजार रूपैयाँमा पाइने धादिङको कालो गिटीमा दुईदेखि तीन हजार रूपैयाँ बढेको छ। गोल्डेन निर्माण सप्लायर्स, बल्खुका प्रोप्राइटर ऋषि खतिवडाका अनुसार अहिले यो गिटी एक टिपरको उनन्तीस हजारसम्म पर्छ।
त्यस्तै डबल वास बालुवाको मूल्य तीन हजार रूपैयाँ बढेको छ। पहिले एक टिपर सत्ताइस हजारमा पाइनेमा निषेधाज्ञा खुलेपछि तीस हजारसम्म पुगेको छ।
'कालो गिटी, सेतो गिटी, बालुवा सबैको मूल्य औसतमा तीन हजार बढेको छ। निर्माण चालु भए मूल्य अझै बढ्न सक्छ,' खतिवडाले जानकारी दिए।
उनका अनुसार बर्खाको समयमा अरूबेला भन्दा बाटो खराब हुन्छ। ढुवानीमा समस्या हुन्छ। त्यस्तै गिटी बालुवाको उत्खनन कम हुन्छ र खोला किनारमा राखिएका सामग्रीमा क्षति पुग्न सक्छ। त्यसैले सुरक्षित गरेर स्टकमा राखिएका सामान मात्रै बेचिन्छन्। माग धेरै आएको अवस्थामा क्रसर व्यवसायीले स्वतः मूल्य बढाउँछन्।
पेट्रोलियम पदार्थको भाउ बढेकाले पनि निर्माण सामग्रीको मूल्य बढेको उनको भनाइ छ।
'बर्खामा गिटी-बालुवाको भाउ बढ्ने नै हो,' खतिवडाले भने, 'अहिले झन् डिजलको मूल्य दिनदिनै बढेको छ। यसले पनि मूल्यमा असर पारेको छ।'
तेलको भाउ अहिलेकै अनुपातमा बढिरहने हो भने निर्माण सामग्रीको मूल्य अझै बढ्ने खतिवडा बताउँछन्। भन्छन्, 'अहिले तीस प्रतिशत माग हुँदा पनि मूल्य बढेको छ। माग बढे अझै मूल्य बढ्छ।'
फलामजन्य सामग्रीको भाउ पनि अप्रत्याशित रूपमा छ। निषेधाज्ञाअघि पचहत्तरदेखि असी रूपैयाँ किलोमा कारोबार भएको डन्डी अहिले निर्माण स्थलसम्म पुर्याउँदा एक सय दस रूपैयाँसम्म लाग्ने ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए।
जस्तापाताको भाउ पनि आकासिएको छ।
'निषेधाज्ञाअघि एक बन्डल जस्तापाताको बढीमा नौ हजार थियो। डन्डी पचहत्तरदेखि असी रूपैयाँ प्रतिकिलो थियो,' उनले भने, 'अहिले जस्तामा पाँच हजार, डन्डी किलोमा बीस-पच्चीस रूपैयाँ बढेको छ।'
डन्डीमा जस्तै विभिन्न किसिमका पाइपमा पनि मनलाग्दी मूल्य बढेको कटुवालले बताए। पाइप खरिदमा नापतौल गर्ने प्रणाली नभइ गोटा हिसाबमा कारोबार हुने भएकाले उपभोक्ता अझै मारमा परेको उनी बताउँछन्।
व्यवसायी र डिलरको मिलेमतोमा लगातार मूल्य वृद्धि भएको र सरकाले अनुगमन नगरेको उनको आरोप छ। उनका अनुसार लगातार दुई वर्ष लकडाउन र निषेधाज्ञा झेलेका व्यपारीले सुरूआतमै मूल्य बढाएर नाफा कमाउने बाटो रोज्दा उपभोक्ताले धान्नै नसक्ने गरी भाउ बढिरहेको हो।
उनी भन्छन्, 'मूल्य बढाउँदा दस रूपैयाँ बढाउँछन्, घटाउँदा पाँच रूपैयाँ। भन्सार शुल्क यथावत रहँदा हप्ता-हप्तामा स्टिल र फलामजन्य वस्तुको मूल्य बढाउनुपर्ने अरू कुनै कारण छैन।'
उत्पादक कम्पनीहरूले सिमेन्टको मूल्यमा भने परिवर्तन नभएको बताएका छन्। तर काठमाडौंका विभिन्न खुद्रा पसलमा प्रतिबोरा सिमेन्ट बीसदेखि पच्चीस रूपैयाँ तलमाथि भएको पाइएको छ।
लक्ष्मी ट्रेड, कोटेश्वरका सञ्चालक दीपक पौडेलका अनुसार ओपिसी सिमेन्ट सात सय पच्चीसदेखि सात सय असीसम्ममा कारोबार भइरहेको छ। पिपिसी सिमेन्ट छ सय पच्चीसदेखि छ सय असी रूपैयाँमा कारोबार भइरहेको उनले बताए।
'यो मूल्यमा प्रतिबोरा पन्ध्र रूपैयाँ मजदुर ज्याला र दस रूपैयाँ ढुवानी खर्च जोडिन्छ। निर्माण स्थलसम्म पुग्दा ओपिसी आठ सय दस रूपैयाँसम्म पर्छ,' पौडेलले बताए।
कट्टेल इन्टरप्राइजेजका सञ्चालक गोपाल कट्टेलले पनि मंगलबार ओपिसीको बजार मूल्य सात सय असीदेखि आठ सय रूपैयाँ प्रतिबोरा भएको बताए। यो मजदुर ज्याला र ढुवानी खर्च नजोडिएको मूल्य हो।
'ढुवानी गरिने ठाउँ हेरेर बीसदेखि पच्चीस रूपैयाँ ज्याला जोडिन्छ,' उनले भने।