प्रतिस्थापन विधेयक बजेटमार्फत् सरकारले आयातित बिलेटको कर बढाएपछि व्यवसायीले डण्डीको मूल्य बढाएका छन्।
बजेटपछि विस्तारै एक/दुई रूपैयाँ गरेर डण्डीको मूल्य बढ्दै गएको न्यु कटुवाल डण्डी उद्योगका सञ्चालक मोहन कटुवालले बताए।
‘कर बढाएपछि एक/दुई रूपैयाँ गरेर अहिले चार रूपैयाँसम्म बढेको छ,’ उनले भने, ‘सम्बन्धित निकायले अनुगमन नगर्ने हो भने अझै बढ्छ।’
सरकारले कर बढाए पनि अहिले तुरून्तै डण्डीको मूल्य बढ्नु नपर्ने उनको भनाइ छ।
‘कर बढाएपछि व्यवसायीले बिलेट आयात गरेका छैनन्। पुरानै बिलेटबाट उत्पादित डण्डीको मूल्य किन बढाउने?,’ उनले भने।
साखः टोर स्टिलका किरण साखः पनि सरकारले कर बढाएपछि बिलेट आयात नगरेको बताउँछन्।
‘त्यति धेरै भन्सार तिर्नुपर्ने भएपछि हामी कसरी बिलेट आयात गर्न सक्छौं,’ उनले भने, ‘बजेट पुनः संशोधन गर्नुपर्छ।’
नेपालको सबैभन्दा ठूलो स्टिल्स कम्पनी जगदम्बा स्टिल्सले भने मूल्य बढाएको छैन।
अन्य उद्योगीले भाउ बढाए पनि जगदम्बाले डण्डीको मूल्य नबढाएको जगदम्बा स्टिल्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए।
‘अन्य उद्योगीले के गरे थाहा छैन,’ उनले भने, ‘हाम्रो उत्पादनको भने मूल्य बढेको छैन।’
आफ्नो कम्पनीको डण्डीको कारखाना मूल्य ८४ देखि ८५ प्रतिकिलो रहेको उनले जानकारी दिए।
सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमै उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार नलाग्ने व्यवस्था गरेको छ। पहिले स्पन्ज आयात गर्दा पाँच प्रतिशत भन्सार महसुल र एक किलोमा एक रूपैयाँ ६५ पैसा अन्तशुल्क लाग्दै आएको थियो।
स्पन्ज आइरन आयात गरी केही उद्योगीले यहीँ बिलेट र छड उत्पादन गर्दै आएका छन्। केही उद्योगीले भने सिधै बिलेट आयात गरी छड उत्पादन गर्दै आएका छन्। बिलेट आयातमा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको संशोधित बजेटमार्फत कर बढाएका छन्।
बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लाग्ने उल्लेख छ। यसअघि आयात हुने बिलेटमा प्रति मेट्रिक टन एक हजार ६ सय ५० रूपैयाँ अन्तशुल्क लाग्दै आएको थियो। हाल यसमा वृद्धि गरी प्रति मेट्रिक टन दुई हजार पाँच सय रूपैयाँ अन्तशुल्क लगाइएको छ।
स्पन्ज आइरन र बिलेट दुवै कच्चा पदार्थ हुन्।