सुनसरी-मोरङ औद्योगिक करिडोरमा अर्को स्टिल उद्योग थपिएको छ।
दुहबी -१ स्थित परास्टोकीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको छ।
२ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको उद्योगले व्यावसायिक उत्पादन पनि सुरू गरेको छ। स्वस्तिक रोलिङले बिलेटको पनि व्यावसायिक कारोबार गर्दै आएको छ।
उद्योगका सञ्चालक रमेश राठीले दिएको जानकारी अनुसार बिलेटबाट उद्योगले बजरङ्ग ब्रान्डमा टिएमटी छड, बिलेट, एङ्गल, च्यानल र आइबिमको उत्पादन गरिरहेको छ।
राठीका अनुसार बजरङ्ग ब्रान्डको छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिन्ह प्राप्त गरेको छ।
यो उद्योगको उत्पादन क्षमता प्रतिदिन ५ सय टन रहेको सञ्चालकको भनाइ छ।
स्वस्तिक रोलिङले ७ एमएमदेखि ३२ एमएमसम्मका टिएमटी छड उत्पादन गरिरहेको र बजारबाट ज्यादै राम्रो प्रतिक्रिया आएको उद्योगको भनाइ छ।
सञ्चालक राठीको दाबी अनुसार यो उद्योग नेपालमा सबभन्दा नयाँ र अत्यधुनिक प्रविधिको हो।
'२०७२ को भूकम्पपछि धेरैले घर बलियो बनाउन चाहेका छन्', सञ्चालक राठीले भने, 'सबैको चाहना गुणस्तरीय टिएमटी छड भएको छ। ग्राहकको यही आवश्यकता र चाहना पूरा गर्ने हाम्रो मुख्य लक्ष्य हो।'
शुक्रबार पत्रकार सम्मेलन गरेर उद्योगले आफ्नो मुख्य प्राथमिकता टिएमटी उत्पादन र बिक्री/वितरणमा रहेको जनाएको छ।
बजरङ्ग स्टिल्स् उच्च प्रविधिद्वारा उत्पादित उच्च गुणस्तरको भएको दाबी गर्दै उद्योगले भनेको छ, 'एफ सी ५०० ग्रेडको टिएमटी छडको सिमेन्टसँगको पकड शक्ति अधिक मजबुत रहन्छ। कम खिया लाग्ने र बढी लचकदार यो छड युरोपियन प्रविधिको प्रयोग गरिएको छ।'
स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा स्टिलबाट कच्चापदार्थ आयात गरी १७ सय डिग्री तापक्रममा पगालेर कन्टिन्युअस कास्टिङ मेसिनद्वारा बिलेट उत्पादन गरी छड, एङ्गल, च्यानल र आइ बिमको उत्पादन गर्ने जनाएको छ।