धेरैजसो मानिसले प्रतिनिधि तथा प्रदेश सभाको चुनावपछि घरजग्गा कारोबार बढ्ने अनुमान लगाएको थिए। मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव भएको थियो।
तर चालु आर्थिक वर्ष २०७९/८० को पुस महिनामा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन।
काठमाडौं उपत्यकामा मंसिरमा कात्तिकको तुलनामा २३.३३ प्रतिशतले घरजग्गा कारोबार बढेको थियो। उक्त महिना एक हजार पाँच सय ४७ संख्यामा घरजग्गा किनबेच भएको थियो।
यो महिना भने मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको नदेखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा पुस महिनामा एक हजार नौ सय ९ संख्यामा घरजग्गा किनबेच भएको छ। यस्तो किनबेच मंसिर महिनामा एक हजार नौ सय ८ संख्यामा थियो।
पुसमा जग्गाको कित्ताकाट पनि घटेको छ। काठमाडौं उपत्यकामा मंसिरमा ६ सय १६ जग्गा कित्ताकाट भएकोमा पुस महिनामा पाँच सय १ संख्यामा भएको छ।
कारोबार संख्या घटेसँगै राजस्वमा असर परेको छ।
केही समयदेखि घरजग्गा कारोबारमा मन्दी आइरहेको थियो। २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।
स्थानीय भू–उपयोग परिषद्बाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको थियो।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। सो निर्देशनअनुसार हालसम्म विभागमा हालसम्म ८० देखि ९० वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारी बताउँछन्।
काठमाडौं उपत्यकामा २६ वटा पालिका छन्। त्यसमध्ये २४ पालिकाले कृषि तथा गैर कृषि जग्गा वर्गीकरण गरिसकेको उनले जानकारी दिए।
'२४ वटाले वर्गीकरण गरिसेकेका छन्। कित्ताकाटको प्रक्रियाले गर्दा घरजग्गा कारोबार नबढेको होला,' उनले भने।
ती पालिकाले पनि कृषि र गैह्र कृषि मात्रै छुट्याएका छन्। बाँकी विधामा भने छुट्याउन बाँकी नै छ।
उनका अनुसार मन्त्रालयले अन्य पालिकालाई पनि जग्गाको वर्गीकरण छुट्याउन पत्राचार तथा सहजिकरण गरिहेको छ।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्। कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु।
यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ। ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
अहिले काठमाडौंमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट भएको छ।
कलंकी कार्यालयबाट पुसमा ७ सय ४ संख्यामा घरजग्गा कारोबार भएको छ। यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन्।
दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय रहेको छ। यस कार्यालयबाट पुसमा ४ सय ४२ संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन्।
चाबहिल मालपोत कार्यालय पुसमा तीन सय ६० संख्यामा घरजग्गा किनबेच भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्।
त्यस्तै, मनमैजु कार्यालयबाट पुसमा घरजग्गा कारोबार भएको छैन।
मंसिरमा यो कार्यालयबाट दुई सय ८१ संख्यामा घरजग्गा कारोबार भएको थियो।
यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।
डिल्लीबजार कार्यालयबाट पुसमा दुई सय दुई संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौं महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ।
टोखा कार्यालयबाट पुसमा एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारेकश्वर नगरपालिका वडा नम्बर १ हेर्छ।
गत वर्ष पुससम्मको तुलनामा यस वर्षको पुससम्ममा ४४ प्रतिशतले घरजग्गा किनबेच घटेको छ।
गत वर्ष ७० हजार एक ६८ संख्यामा घरजग्गा किनबेच भएकोमा यस वर्षको पुससम्ममा ३८ हजार ८ सय ७१ संख्यामा किनबेच भएको छ।