भरतपुर महानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। जग्गा वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो।
महानगरपालिले सरकारले तोकेको नौ वटै विधामा जग्गा वगीकरण सकेको पालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले बताए।
‘पालिकाको मंगलाबार बसेको ७८ औं बैठकले जग्गा वर्गीकरणको निर्णय गरिसकेको छ। अब हामी सम्बन्धित निकायमा पत्राचार गछौैं,’ उनले भने।
नौ वटै विधामा जग्गा वर्गीकरण सकेकोबारे आजै पालिकासँग सम्बन्धित मालपोत कार्यालय, नापी विभाग, प्रदेश र संघमा जानकारी गराइने उनले बताए।
महानगरपालिका भित्र सबै प्रकारका जग्गा रहेको उनको भनाइ छ।
६ मिटर बाटो भएको सडकको दायाँबायाँ ५० मिटर, ६ मिटरभन्दा माथि सडकको दायाँबायाँ ७० मिटर, मुख्य हाइवेको चारै दिशाबाट( पूर्व, पश्चिम, उत्तर र दक्षिण) दुई÷दुई सय मिटरको क्षेत्रलाई आवास क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै, बजार क्षेत्रबाट कम्तिमा ५० व्यवसाय भएको क्षेत्रलाई पनि आवास क्षेत्र मानिएको उनले बताए।
उनका अनुसार उद्योग भएको ठाउँलाई औद्योगिक क्षेत्र मानिएको छ। महानगरपालिका भित्र वडा २० र २१ मा औद्योगिक क्षेत्र सञ्चालित छ।
‘वन, सार्वजनिक, नदि, खोला, सिमसार सबै छुट्याएको छौं। ‘यसबाहेकका कृषि क्षेत्र छन्,’ उनले भने।
सो महानगरपालिकामा २९ वटा वडा छन्।
भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन, २०७६ ल्याएको थियो। उक्त ऐन कार्यान्वयन गर्न यही साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्यायो।
नियमावली आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि क्षेत्रको संरक्षण गर्न सबै पालिकाहरूलाई आफ्नो क्षेत्रको जग्गा मंसिर २३ गतेसम्म कृषि र गैरकृषिमा वर्गीकरण सक्न निर्देशन दिएको थियो।
नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ।