पछिल्लो समय घरजग्गा किनबेच ओरोलो लाग्दै गएको छ। विश्वव्यापी रूपमा आर्थिक मन्दी लागेसँगै घरजग्गा किनबेच ओरालो लाग्दै गएको हो। पोहोरको तुलनामा यो वर्ष घरजग्गा कारोबार लगभग आधा मात्रै छ।
त्यसैले ग्राहकहरूलाई आकर्षित गर्न व्यवसायीहरूले विभिन्न सुविधा दिन थालेका छन्।
अहिले काठमाडौं, रविभवनस्थित 'सोल्टी सिटी' अपार्टमेन्टमा फ्ल्याट किन्दा गाडी उपहार पाइने भएको छ। यो अपार्टमेन्ट प्लाटिनम डेभलपर्सले निर्माण गरेको हो।
'घरजग्गा व्यवसायको बजार बढाउन यस्तो योजना ल्याएका हौं,' प्लाटिनम डेभलपर्सका निर्देशक विशाल अग्रवालले भने।
कम्पनीले सोल्टी सिटीमा ११६० वर्गफिटको तीन बेडरूम किन्ने ग्राहकलाई हुन्डाई ग्रान्ड आइ–२० दिने योजना ल्याएको हो।
त्यस्तै ९२० वर्गफिटको तीन बेडरूम फ्ल्याट किन्नेले हुन्डाई ग्रान्ड आइ–१० नियोस गाडी सित्तैमा पाउने छन्।
कम्पनीले ११६० वर्गफिटको तीन बेडरूम फ्ल्याटको मूल्य २ करोड ४३ लाख रूपैयाँ तोकेको छ। यो फ्ल्याट किन्दा ४० लाख रूपैयाँ मूल्य पर्ने हुन्डाई गाडी निःशुल्क पाइने भएको हो।
९२० वर्गफिटको तीन बेडरूमको फ्ल्याट किन्नेले भने ३० लाख मूल्य पर्ने हुन्डाई आइ–१० नियोस गाडी पाउने भएका हुन्।
कम्पनीले यो उपहार योजना अपार्टमेन्टको 'बी' टावरमा रहेका फ्ल्याटहरू किन्ने ग्राहकका लागि ल्याएको निर्देशक अग्रवालले जानकारी दिए।
उनका अनुसार अनुसार सोल्टी सिटी अपार्टमेन्टको 'ए', 'सी–१' र 'सी–२' टावर निर्माण सम्पन्न भइसकेर ९० प्रतिशत फ्ल्याट बुकिङ भइसकेको छ।
'बी' टावर भने निर्माणको क्रममा छ। यो टावरका फ्ल्याट खरिदका लागि बुकिङ खुलाइएको छ। यहीँका फ्ल्याट बुकिङ वा खरिदमा ग्राहकले गाडी सित्तैमा पाउने छन्।
निर्माण सम्पन्न भइसकेका टावरका फ्ल्याटको हकमा भने छुट योजना ल्याएको उनले बताए।
'यो अफर ल्याएको तीन/चार दिन मात्रै भयो। यसमा ग्राहकहरूको सोधपुछ बढेको छ,' अग्रवालले भने, ‘बुकिङ भने भइसकेको छैन।’
यो योजना चैत मसान्तसम्म लागू हुनेछ।
पछिल्लो समय घरजग्गा कारोबार बढाउन व्यवसायीहरूले पहल गरिरहेका छन्। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋण सहज भए घरजग्गा कारोबार स्वतः बढ्ने घरजग्गा तथा आवास संघका उपाध्यक्ष विदुर धमला बताउँछन्।
‘रियलस्टेटको कारोबार बढाउन व्यवसायीहरूले अफर ल्याएका छन्,’ उनले भने, ‘तर बैंक तथा वित्तीय संस्थाबाट ऋण सहज नहुन्जेल बिक्री उकालो लाग्ने सम्भावना कम छ।’
पछिल्लो समय घरकर्जाको माग नै घटेको बैंकरहरू पनि बताउँछन्। नबिल बैंकको व्यक्तिगत कर्जा विभाग प्रमुख चाँदनी श्रेष्ठका अनुसार पहिलेको तुलनामा अहिले घर कर्जाको माग घटेको छ। बैंकको ब्याजदर बढेकाले कर्जा माग घटेको हुन सक्ने उनको भनाइ छ।
‘बैंकमा निक्षेप घटेको छ, कर्जा माग पनि कम छ,’ उनले भनिन्, ‘केहीले बैंकबाट महँगै ब्याजमा भए पनि ऋण लिएर चलाएका छन्। अरू भने ब्याज घटेपछि लिने योजनामा छन्।’
बैंकहरूले पनि अहिले व्यवसायिक घरकर्जामा त्यति धेरै लगानी गरेका छैनन्। नबिलका साना तथा मझौला कर्जा, लघुवित्त तथा दिगो बैंकिङ विभागका प्रमुख निरज बस्नेतका अनुसार सानो-सानो कर्जा दिए पनि ठूलो कर्जामा त्यति चासो दिइएको छैन।
लगानी योग्य पुँजी अभावका कारण ठूला कर्जामा बैंक हच्किएको उनले बताए।