स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इँटाको विकल्पमा प्रयोग गरिने प्रिफ्याबको जडानमा प्रयोग हुने एडिसिभ सिमेन्टको नेपालमै उत्पादन सुरु भएको छ।
हालसम्म विदेशबाट आयात गरी प्रयोग भइरहेकोमा नेपालमै पहिलो पटक गोर्खा इको प्यानलले यो सिमेन्टको उत्पादन थालेको हो। यो सिमेन्ट प्यानलका साथै बाथरुम र किचेनका टायलहरु टाँंस्न प्रयोग गरिन्छ।
यसअघि चीनबाट आयातित गरिँदै आएकोमा अहिले बहराइनस्थित साझेदार कम्पनी अल खाजाको प्रविधि नेपालमा उत्पादन सुरु गरिएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए।
भारतबाट आयातित प्रिफ्याब प्यानलहरुले ज्वाइन्टमा सिमेन्टको प्रयोग नगरे पनि गोर्खा इको प्यानलले यो सिमेन्ट प्रयोग गर्दै आएको सिईओ दुवालले बताए। ‘कुनै पनि संरचना भूकम्प प्रतिरोधी हुन त्यसको स्ट्रक्चर र वालको ज्वाइन्ट पनि बलियो तथा मजबुत हुन आवश्यक छ’ उनले भने।
इको प्यानलको ज्वाइन्टमा एडिसिभ सिमेन्ट प्रयोग गर्दा भूकम्प प्रतिरोधात्मक हुने दुवालले बताए।
ल्याबमा पूर्ण परीक्षण पश्चात मात्रै यो सिमेन्ट बजारमा पठाउने उनले बताए। सकेसम्म अत्याधिक स्वदेशी कच्चा पदार्थको प्रयोगबाट यो सिमेन्टको उत्पादन थालेको उनले बताए। एडिसिभ सिमेन्टको प्रयोगले इको प्यानलमा भएका टंङ्ग एण्ड ग्रुपको जोडाई मजबुत हुने उनले बताए।