दसैंमा खसीबोका सँगै धेरैले च्याङ्ग्राको मासु पनि रुचाउँछन्। कहिलेकाहीँ पकाउने तरिका नजानेर भनेजस्तो स्वाद नपाइएको पनि हुन सक्छ।
यही कुरा ध्यानमा राख्दै हामीले तपाईंहरूलाई सेफ कुमार चालिसेको मद्दतमा च्याङ्ग्राको मासु बनाउन सिकाएका छौं।
आवश्यक सामग्रीः
१) तोरीको तेल- ४ टेबुल चम्चा
२) ठूलो प्याज- मसिनो गरी काटेको २ टेबुल चम्चा
३) अदुवा- (कोरेको) २ टेबुल चम्चा
४) लसुन- (पिसेको) १ टेबुल चम्चा
५) बेसार १-२ चिया चम्चा
६) मेथीको दाना १ चिया चम्चा
७) तेज पात- २ वटा
८) लोकल मसला पेष्ट -३ टेबुल चम्चा (सिलौटामा पिसेको)
९) च्याङ्ग्राको मासु- १ के.जी. (डाइस आकारमा काटेको)
१०) स्टक वा मन तातो पानी- १५० मि.लि
११) कागती- १ वटा (मध्यम खालको)
११) हरियो धनियाँ- २ टेबुल चम्चा (मसिनो टुक्रामा काटेको)
विधिः
१) पकाउनका लागि पूर्व तयारी गर्ने।
२) सुकाएर वा कराईमा भुटेर पिस्न तयार मसलाहरू जिराको दाना, सुकेको धनियाँ, मरिचको दाना, पिपला, जैपत्री, रातो खुर्सानी जस्ता मसलालाई थोरै थोरै पानी राखेर पिसेर लोकल पेष्ट तयार गर्ने।
३) बाक्लो कसौंडीमा तेल तताउने। तातेको तेलमा १ चिया चम्चा मेथीको दाना पड्काउने। मेथी कालो भएपछि २ वटा तेज पात भुट्ने। त्यसैमा लसुन, अदुवा, प्याज हालेर थप १–२ मिनेट मन्द आगोमा मासु समेत राखेर चलाउने।
४) बेसार राखेर सानो आगोको आँचमा चलाउँदै मासुको गुलावी रङ हराउन दिने।
५) मसलाको पेष्ट र नुन राखी छोपेर चलाउँदै १० मिनेटसम्म पकाउने।
६) आँच घटाउने र छिपछिप हुँदै मासु नरम नहुञ्जेल २५–३० मिनेट सम्म चलाउँदै पकाउने। त्यसमा कागतीको रस राखी नुन पिरो मिलाउने।
७) अन्त्यमा हरियो धनियाँ राखी पाकेको मासुलाई अन्य खानाको साथमा पस्कने।
यी पनि हेर्नुस्ः
अस्ट्रिचको मासुको परिकार खान मन छ? यसरी बनाउन सकिन्छ
खसीको मासुबाट यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार
कुखुराको मासुको स्वादिलो परिकार खान मन छ? यसरी बनाउनुहोस् चिकेन क्रिस्पी
यसरी सजिलै पकाउन सकिन्छ स्वादिलो चिकेन अफ्रिटाडा
मटन बिरयानी बनाउने हो? यस्तो छ तरिका