भारतमा १४ वर्षपछि सलाईको मूल्य बढ्ने भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार अल इन्डिया चेम्बर अफ म्याचेजले आगामी डिसेम्बर १ देखि सलाईको मूल्य दोब्बर बढाउने निर्णय गरेको छ।
अहिले भारतमा एउटा सलाईको मूल्य १ भारू पर्छ भने डिसेम्बरदेखि २ भारू पुग्नेछ। यसअघि भारतमा सन् २००७ मा सलाईको मूल्य बढाइएको थियो, त्यतिबेला ५० पैसाबाट एक रुपैयाँ पुर्याइएको थियो।
उत्पादकहरूले सलाई बनाउन १४ वटा कच्चा पदार्थ आवश्यक पर्ने र ती सबैको मूल्य वृद्धि भएकाले सलाईको मूल्य पनि बढाउनु परेको बताएका छन्।
भारतको तमिलनाडुमा सलाई उद्योगमा ४ लाख मानिसहरूले काम गर्छन्, तीमध्ये ९० प्रतिशत महिला छन्।
भारतमा पछिल्लो समय पेट्रोल-डिजेललगायत इन्धनको मूल्य बढिरहेका बेला आगो बाल्न चाहिने सलाईको मूल्य पनि बढ्ने भएपछि यसले सञ्चारमाध्यममा चर्चा पाएको छ।