काठमाडौं उपत्यकाका मासु पसलमा अहिले खसीका खुट्टा खोज्नेको ताँती हुन्छ। माग अत्यधिक बढेपछि बजारमा खसीका खुट्टाको हाहाकार भएको मासु पसले बताउँछन्।
नेपालमा कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ। यसअघिका भेरियन्टभन्दा निकै संक्रामक रहेको ओमिक्रोन भेरियन्ट काठमाडौं उपत्यकालाई गाँजेको छ। घातक नभए पनि निकै सक्रामक भएको ओमिक्रोनका कारण देशभरिमा आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यका छन्।
खसीका खुट्टाको झोल खाए तागत आउँछ भन्ने मानसिकताले खुट्टाको माग ह्वात्तै बढेको छ।
मागअनुसार आपूर्ति हुन नसक्दा खसीका खुट्टा पाउन मासु पसलमा नाम टिपाउनुपर्ने अवस्था छ। नाम टिपाएपछि पनि ८-१० दिनपछि मात्रै खुट्टा लिने पालो आउँछ।
'खुट्टाको माग अहिले धेरै नै बढेको छ। स्वस्थानी महिना चलेर खसी पनि कम काटिन्छ, माग्ने मान्छे यति आउँछन् कि सात दिनमा पनि पालो पुर्याउन सकिन्न,' एकान्तकुनास्थित देवी मिट सपकी सञ्चालक विमला श्रेष्ठले भनिन्।
उनको पसलमा एक हप्तादेखि खसीका खुट्टा खोज्नेहरूको लाइन छ। खुट्टाकै लागि ग्राहकबीच झगडै पर्ने उनले बताइन्।
'हामीले कसलाई दिने कसलाई नदिने, जो पहिले आउँछ र बुकिङ गरेको हुन्छ उसैलाई दिने हो। अरूको पालो केही दिनपछि आउँछ,' उनले भनिन्।
पुल्चोकस्थित गीता मिटसपका सञ्चालक श्याम शाही पनि अहिले खसीको खुट्टाको अभाव भएको बताउँछन्। उनका अनुसार पहिले पनि कोरोना लहर उत्कर्षमा हुँदा यस्तै अभाव थियो। बीचमा केही समय माग खासै आएन। अहिले १५ दिनयता भने खुट्टा अभाव भएको उनले बताए।
'बिहान धेरै मानिस खुट्टा खोज्न आउँछन्, धेरैलाई खाली पठाउनुपरेको छ,' उनले भने।
पुल्चोककै सोल्टी कोल्ड स्टोरका रवीनदास खड्गी पनि चिसो याममा प्रायः खसीको खुट्टाको माग धेरै हुने बताउँछन्। स्वस्थानी महिना सुरू भएकाले मासुको माग कम हुन्छ। त्यसकारण पनि खसी कम काटिन्छ, खसी कम काटिएपछि खुट्टाको मात्रा पनि कम हुने नै भयो।
'पहिले म दिनमा १० वटा खसी काट्थेँ। अहिले जम्मा दुइटा काट्छु। स्वस्थानी र कोरोनाका कारण धेरै होटल-पार्टी प्यालेस बन्द छन्,' खड्गीले भने, 'पहिले दिनमा ४० खुट्टा हुन्थ्यो, अहिले आठ वटा। अनि माग धेरै छ।'
उनले यसमै थपे, 'सात दिनदेखि अर्डर गरेर राखेका छन्। पुर्याउनै मुश्किल छ। जति खुट्टाको माग हुन्छ त्यति नै मासुको भएको भए अभाव हुन्थेन।'
संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी खसीको खुट्टाको झोल खाँदा इम्युनिटी बढ्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताए।
'इम्युनिटी भन्ने कुरा आज केही खाएर भोलि बढ्ने होइन। खसीको खुट्टाको झोल खाँदा इम्युनिटी बढ्छ भन्ने वैज्ञानिक प्रमाण छैन,' डाक्टर सुवेदीले भने, 'कोरोना हुँदा झोलिलो कुरा खानुपर्छ। खसीको खुट्टाको झोल नै खानुपर्छ भन्ने छैन।'
फिजिसियन कन्सल्टेन्ट डाक्टर निमेष पौडेल खसीको खुट्टामा प्रोटिन धेरै हुने भए पनि त्यसले कोरोनासँग तत्काल लड्न सघाउने प्रमाण नभएको बताए।
प्रोटिनयुक्त झोलिलो खानेकुरा खाँदा फाइदा हुने भएकाले खसीको खुट्टा अरू मासुको झोल खानुमा कुनै फरक नभएको उनले बताए।
'खसीको अरू भागको मासु खानु र खुट्टाको झोल खानु उस्ताउस्तै हो। खुट्टाकै झोल खानुपर्छ भन्ने केही छैन,' डाक्टर पौडेलले भने।