दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको तेलको उत्पादन गर्ने भएको छ।
दसैंअघिदेखि हेटौंडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेसनले जनाएको छ।
तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए।
कर्पोरेसनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्याउँदै आएको छ। पछिल्लो पाँच वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ।
आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेसनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो। आव २०७४/७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा रु आठ अर्ब २५ करोड, आव २०७६/७७ मा रु नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए।
गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उनको भनाइ छ।
बिक्री बढेसँगै कर्पोरेसनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ। कर्पोरेसनले आव २०७७/७८ मा मात्रै रु. पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ। गत आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेसनका विभागीय प्रबन्धक झाले बताए।