मोबाइल आयातकर्ताको समस्यालाई मध्यनजर गर्दै दूर–सञ्चार प्राधिकरणले मोबाइलको स्तर स्वीकृृति (टाइप अप्रुभल) लिन कार्यालय जानुपर्ने बाध्यता हटाउने भएको छ।
प्राधिकरणले आगामी आर्थिक वर्षदेखि व्यक्तिगत वा व्यवसायिक तवरको मोबाइल आयात गर्न अनलाइनबाटै टाइप अप्रुभल लिने व्यवस्था गर्ने भएको हो।
टाइप अप्रुभलको प्रक्रिया छिटो छरितो र सहज बनाउने उद्देश्यले अनलाइन प्रक्रियामा लैजान लागिएको प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए।
‘व्यवसायीले यो प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेकाले यसलाई सहज र छरितो बनाउन अनलाइन प्रक्रियामा लैजान लागिएको हो’, उनले भने।
उनका अनुसार अबको दुई/तीन महिना अनलाइन र कार्यालय दुबैबाट टाइप अप्रुभल कार्य हुन्छ। आगामी आर्थिक वर्ष (श्रावण १ गते)देखि भने पूर्ण रूपमा अनलाइन प्रणालीमा जाने खनालले जानकारी दिए।
टाइप अप्रुभल अनलाइन प्रणाली तयार भएपछि व्यवसायी तथा ग्राहकले प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन फारम आफै भर्न सक्छन्। ग्राहकले भरेको सो फारमलाई प्राधिकरणले डकुमेन्ट अनुसार सिस्टममा चेक गर्छ। त्यसपछि मिले नमिलेको कन्फर्मेसन गर्ने र जारी गर्ने प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए।
प्राधिकरणले अनलाइनमा कसरी टाइप अप्रुभल लिने भनेर मोबाइल तथा अन्य उपकरण आयातकर्तालाई आज राजधानीमा एकदिने कार्य गोष्ठी आयोजना गरी तालिम दिएको छ।
दुरसञ्चार ऐन २०५३ को दफा १३ मा दुरसञ्चार सेवा तथा उपकरणको स्तर निर्धारण गर्ने व्यवस्था गरिएको छ। सो ऐन अनुसार मोबाइल सेट, ट्याबलेट, रेडियो उपकरण, वाइफाई, ब्लुटुथलगायत उपकरण तथा नेटवर्कले स्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ।
प्राधिकरणले तोकिएको मापदण्ड पूरा गरेको उपकरणलाई मात्रै टाइप अप्रुभल दिने गर्छ। टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनै पनि मोडलका उपकरणको उत्पादकको प्रमाणपत्र, वारेन्टी–ग्यारेन्टीको पत्र, कस्टमर केयर सेन्टरको रिपोर्ट, उपकरण परीक्षण प्रतिवेदन लगायतका विवरण प्राधिकरणमा बुझाउनुपर्ने दूरसञ्चार ऐनमा व्यवस्था छ।
साथै व्यक्तिले विदेशबाट लिएर आउने एउटा मोबाइल सेटलाई व्यक्तिको नागरिकता वा परिचयपत्रका आधारमा टाइप अप्रुभल गर्ने गरेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले सन् २००८ देखि मोबाइल उपकरणको टाइप अप्रुभल गर्न थालेको हो। हालसम्म प्राधिकरणले ७ हजार मोडलले टाइप अप्रुभल जारी गरेको छ।
हाल सञ्चालनमा रहेका अवैध मोबाइल सेटको एकीन तथ्याङ्क भने प्राधिकरणसँग छैन।