नेपाल टेलिकमले चितवनमा अप्टिकल फाइबरबाट दिने इन्टरनेट सेवा शुरु गरेको छ। टेलिकमले फाइबर टु होम(एफटीटीएच) सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुर बाँकस्कोटाले उद्घाटन गरेका हुन्।
दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्रीले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए। उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए।
सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम कम्पनीले बनाएको छ।
हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइने छ । यस्तै बछ्यौली र ब्रिडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइने छ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए।
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन् ।
एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निःशुल्क उपलब्ध हुनेछ