नेपाल टेलिकमले चीनमा प्रतिमिनेट ३ रुपैयँ ३ पैसामा कुरा गर्न मिल्नेगरी अफर ल्याएको छ। नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराएको छ।
दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ। यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ।
यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसा शुल्क लाग्नेछ।
यो अफर सबै अन्तर्राष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ। प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागू हुन्छ।
पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुने कम्पनीले जनाएको छ।
चाइना कल अफर अन्तर्गतको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*7# मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ।
त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ। दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिक अफर सुविधाका लागि MCHINA टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्दछ।