सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक सिपाघाटमा नयाँ टेलिफोन एक्सचेञ्जको उद्घाटन गरेका छन्।
शनिबार नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत् मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन्।
सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पुर्याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए।
उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुर्याएर महत्वपूर्ण सहयात्री बनिरहेको पनि बताए।
सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरूलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको बताए।
कार्यक्रममा एक्सचेञ्ज रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरूको माग बमोजिम नेपाल टेलिकमले एक महिनामै १ सय २८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएकोमा कम्पनीलाई धन्यवाद दिए।
वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले एक्सचेञ्जको तत्कालको क्षमता १ सय २८ लाइनको भएता पनि आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गर्न सकिने बताए।