नेपाल टेलिकमले धनकुटामा ‘एफटीटीएच’ सेवाको शुरुवात पनि गरेको छ।
‘एफटीटीएच’बाट विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउने छ।
कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात ‘फाइबर टु द होम’ सेवाको औपचारिक शुभारम्भ गरेको हो।
धनकुटामा आयोजित एक कार्यक्रममा एफटिटिएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरे।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको बताए।
उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउँदै प्रविधिको भरपुर उपयोग गर्न सुझाएका छन्।
कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए।
हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ। आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ। यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ। नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन्। साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ ।
एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
यो आईपीमा आधारित सेवा हो ।