प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत् प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्ने खल्ती डिजिटल वालेटले जानकारी दिएको छ।
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आएको डिजिटल वालेट खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढी रहेका छन्।