सुर्खेतको वीरेन्द्रनगरमा नेपाल टेलिकमको उच्च गतिको ईन्टरनेट सेवा अर्थात ‘फाइबर टू होम’ सेवा सुचारु गरिएको छ।
सोमबारदेखि टेलिकमले सुर्खेतमा सेवा सुरु गरेको हो। हालसम्म एडिएसएल सेवामार्फत इन्टरनेट वितरणगर्दै आएको टेलिकमले फाइबर सेवा शुरु गरेको हो।
पहिलो चरणमा वीरेन्द्रनगरको पिपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिएका छन्। यी क्षेत्रहरुमा तत्काल १ हजार ५ सय बढी ग्राहकले फाइबरमार्फत इन्टरनेट सेवा उपभोग गर्न पाउने उनको भनाइ छ।
खतिवडाले अबको १० दिनभित्रै फाइवरबाट इन्टरनेट जडान गरिने बताए। वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गरिने उनको भनाइ छ। वीरेन्द्रनगरको ईत्राम क्षेत्रमा समेत फाइवरको काम शुरु गर्न लागेको छ । फाइवर विछ्याउन वीरेन्द्रनगरका केही क्षेत्रहरुमा सर्भेको काम शुरु गरिएको प्रमुख खतिवडाले बताए।
नेपाल टेलिकम सुर्खेत कार्यालयमार्फत दैलेखको सदरमुकाममा पनि फाइवर विस्तार गर्ने काम चलिरहेकोले अबको दुई महिनाभित्रै त्यहाँ पनि दु्रत गतिको ईन्टरनेट सेवा सुचारु हुने प्रमुख खतिवडाले जानकारी दिएका छन् ।
यो सेवा लिने ग्राहकले ८ एमबिपिएस क्षमताको इन्टरनेटमा फोन सेवा, डिभाईस र एकसय मिटर तार निशुःल्क पाउने छन्। यसको बार्षिक शुल्क ८ हजार रहेको टेलिकमले जनाएको छ।
हाल एडिएसएल सेवा लिइरहेका फाईबर टू होम सेवा शुरु भएका क्षेत्रका ग्राहकहरु पनि फाईबर सेवामा रुपमान्तरण हुने नेपाल टेलिकमको सुर्खेत कार्यालयले जनाएको छ । टेलिकमले ताररहितको फोजी सेवा पनि केही महिनामै सुर्खेतमा सञ्चालन गरिने जनाएको छ ।
मुख्यमन्त्रीलाई फोन गरेर फाईबर सेवाको उद्घाटन
टेलिकमल सुरु गरेको ‘फाईबर टु होम’ सेवाको उद्घाटन मुख्यमन्त्रीलाई फोन गरेर गरिएको छ । सोमबारकर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको उद्घाटन गरेका हुन।
फोनमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशले अघि सारेको डिजिटल प्रदेशको योजनामा यो सेवाले थप टेवा पुग्ने विश्वास व्यक्त गरे। टेलिकमको सेवालाई अझै प्रभावकारी बनाएर सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न उनले आग्रह गरेका छन्।
उद्घाटनका क्रममा मन्त्री भण्डारीले प्रविधिको पहूँचमा नागरिकलाई सहज रुपमा जोड्न सरकारले कार्यक्रम सञ्चालन गर्दै आएको बताए । टेलिकमको ‘फाइबर टू होम’ सेवाका इन्टरनेटले पनि सरकारले बनाएको डिजिटल प्रदेशको अभियानमा सहयोग पुग्ने मन्त्री भण्डारीको विश्वास छ।