नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई स्मार्ट फोन उपलब्ध गराएको छ।
सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ‘सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन’ प्रदान गरेका हुन्।
कार्यक्रममा अधिकारीले फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने बताए।
उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसायमात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको भनाइ राखे।नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टि सम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो।
स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् । यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो।
विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन्। अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ ।