नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रूपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ।
खल्तीसँगै एसिया प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरू उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन्।
यो फन्डमा अधिकतम पचास हजार डलर हुन्छ। यसको मतलब खल्तीले ५० हजार डलर पाउने छ। त्यसको आधा हुन आउने रकम खल्तीले थप गरी महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरूलाई व्यवसाय वृद्धि र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम बनाउने छ।
खल्तीका संस्थापक अमित अग्रवालका अनुसार यो कार्यक्रममा कार्यान्वयन गर्न खल्तीले ३५०० महिला आवद्ध भएको सार्क बिजनेश एसोसिएसन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालसँग सहकार्य गर्ने छ। सबह नेपालले गृहिणीहरूको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ।
परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रूपमा खल्तीलाई प्राविधिक सहयोग पनि गर्ने छन्।
यो कार्यक्रममा पूर्वमा संखुवासभादेखि पश्चिममा दार्चुलासम्मका १२ वटा जिल्लाहरूमा ३५०० भन्दा बढी महिला उद्यमीहरूलाई सहयोग गरिने अग्रवालले जानकारी दिए।
खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मदत पुग्ने विश्वास लिएको छ।
यसमा स्मार्ट छोरीहरूलाई पनि उद्यमीहरूलाई सहयोग गर्न परिचालन गरिने बताइएको छ।
‘नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरू रोजगारीका महत्वपूर्ण स्रोत हुन्। साथै, यिनीहरूले देशको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्छन्। तर पनि यस्ता उद्यमहरूले व्यवसाय सञ्चालन तथा विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाइको सामना गरिरहेका छन्' खल्तीका निर्देशक अरविन्द साहले भने,‘हामीहरूले खल्तीको मोबाइल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्दैछौं जहाँ उनीहरूले उत्पादन गरेका वस्तु तथा सामानहरू सजिलै देशभरका ग्राहकमाझ बेच्न सक्नेछन्। साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरूलाई हाम्रा साझेदार बैंकमार्फत् ऋण प्राप्त गर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौं। यस कार्यक्रममार्फत् देशभर महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरूले फाइदा लिने कुरामा हामी विश्वस्त छौं।’
सन् २०१७, जनवरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, पेमेन्ट गेटवे हो।
खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटल रुम बुकिङ आदि गर्ने, इ–कमर्समार्फत् किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्ने जस्ता सेवाहरू लिन सकिन्छ।
हाल खल्ती प्रयोगकर्ताहरूको संख्या ८ लाखभन्दा बढी रहेको छ।