नेपाल आउने इन्टरनेटको समुन्द्रसम्म पहुँच कति सम्भव होला? सञ्चार मन्त्रीदेखि दूरसञ्चार प्राधिकरणको अध्यक्षसम्मले प्राय भनिरहने तर सँधै भाषणकै विषयमात्र बन्ने गरेको थियो।
तर यो पालि सरकारले यसको सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसका लागि प्राधिकरणले परामर्शदाता छनौटको काम पनि अघि बढाइसकेको छ।
प्राधिकरणले गएको जेठ २ गते प्रकाशित गरेको टेन्डरमा सहभागी भएकमध्ये पाँचवटा कम्पनी छनौटमा परेका छन्। प्राधिकरणका अनुसार जियोकम ईन्टरनेशनल प्रालि र म्याक्सटेक स्टडी एण्ड सर्भिस प्रालिको ज्वाइन्ट भेन्चर, सितारा कन्सल्टेन्ट प्रालि,एक्जुकेटिभ कन्सल्टीङ ईन्जिनियरिङ एण्ड प्लानर प्रालिको ज्वाइन्ट भेन्चर,सिभिल ईन्फर्मेटिक्स एण्ड सोलुसन्स प्रालि र स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम प्रालिको ज्वाइन्ट भेन्चर,एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन प्रालिको ज्वाइन्ट भेन्चर,महारुद्र ग्रुप प्रालि र ईन्टर ईन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि प्रारम्भिक छनौटमा परेका छन्।
अहिले तीन ठाउँबाट भारतीय र एक ठाउँबाट चीनबाट इन्टरनेट आउने गरेको छ। भुपरिवेष्ठित मुलुकका नाताले पाउनुपर्ने पहुँचको सुविधा पाउने भएपनि लागत तथा फाइदाका आधारमा मात्र यस्तो काम अघि बढ्ने प्राधिकरणले जानकारी दिएको छ।
अहिलेको भन्दा सस्तो तथा भरपर्दो कनेक्शन हुने शर्तमा मात्र यो आयोजना अघि बढ्ने प्राधिकरणले जानकारी दिएको छ।