नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षका लागि १६ अर्ब ५१ करोडको बजेट ल्याउने भएको छ। देशभर सूचना प्रविधि पूर्वाधार र सचेतना फैलाउने काम गर्नका लागि उक्त बजेट ल्याउने तयारी प्राधिकरणको छ।
ग्रामिण दूरसञ्चार कोषबाट ६ अर्ब र प्राधिकरणकै कोषबाट १० अर्ब खर्च गर्नेगरी ल्याउन लागिएको बजेटमा कार्यक्रम भने अधिकांस पुरानै रहेका छन्।
टेन्डर भएर ठेक्का लागिसकेका कार्यक्रम धेरै भएको आगामी वर्षका लागि प्राधिकरणले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर विस्तारदेखि विद्यालयहरुमा सूचना प्रविधि ल्याब विस्तार गर्ने कार्यक्रममा बजेट विनियोजन गरेको छ।
प्राधिकरणका अनुसार डाटा सेन्टर स्थापना, तार व्यवस्थापन तथा मोबाइल डिभाइस म्यानेजमेन्टजस्ता कार्यक्रमलाई बजेट विनियोजन गरेको छ।
सरकारले प्रतिबन्ध लगाएका सामग्री ब्ल्क गर्नका लागि भन्दै प्राधिकरणले ७ करोड बजेट छुट्याएको छ। सरकारले प्रतिबन्ध लगाएपनि विभिन्न माध्यमबाट त्यस्ता सामग्री खुल्ने गरेको भन्दै प्रणाली जडान गरी नियन्त्रण गर्न उक्त रकम खर्च गरिने छ।
त्यस्तै ७७ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने कार्यक्रम पनि प्राधिकरणले निरन्तरता दिएको छ।
यसअघि काठमाडौंमा परीक्षणका रुपमा तार व्यवस्थापन गर्ने कार्यक्रम अघि सारेको प्राधिकरणले आगामी वर्ष नेपालका अन्य सहरमा विस्तार गर्नेगरी ५० करोड बजेट विनियोजन गरेको छ।