हिमालय एअरलाइन्सले काठमाडौं-ढाका सीधा उडान गर्ने भएको छ। लामो समयदेखि पर्खाइमा रहेको यो उडान साउन ६ गते (जुलाई २२) देखि सञ्चानमा आउने छ।
एअरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लास सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ। एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको जनाएकाे छ।
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने यात्रुलाई लक्षित गरि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सका अनुसार नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको पहूच विस्तार सञ्जालको मुख्य प्राथमिकता हुनेछ। एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबुधावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ।
यो सेवाले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। उनले भने, ‘दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै यस सञ्जालले नेपाल र बांगलादेशबीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ।
एअरलाइन्स्ले हप्ताको तीन दिन ढाका उडान भर्नेछ। एयरलाइन्सको एच९ ६७८ बिमानले काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।
त्यसैगरि, एच ढ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ। दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्याग निःशुल्क हुने र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुने श्रेष्ठको भनाइ छ।
एअरलाइन्सले ‘एसएयर एयर बीडी’लाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए)को रुपमा नियुक्त गरेको छ। जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।