फेसबुकमाथि ५ अर्ब अमेरिकी डलरको जरिवाना लागेको छ।
आफूसँग भएको तथ्याङ्क गोप्य रुपमा राख्न नसकेको आरोपमा फेसबुकमाथि जरिवाना परेको हो । प्राविधिजन्य कम्पनी माथिको यो अहिलेसम्मकै ठूलो जरिवाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
यसअघि सन् २०१२ मा गुगललाई पनि २ करोड २५ लाख रुपैयाँ जरिवाना लागेको थियो। गुगलमाथिको जरिवाना पनि व्यक्तिगत विवरण चुहाएको आरोपमा लगाइएको थियो।
फेसबुकमाथि लागेको यो जरिवाना उसको आम्दानीको करिब ९ प्रतिशत हो। ‘फेड्रल ट्रेड कमिसन’ (एफटिसी)ले यस विषयमा फेसबुकमाथि अनुसन्धान गरिरहेको थियो। बेलायतस्थित राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख प्रयोगकर्ताका तथ्यांकको फेसबुकले दुरूपयोग गरेको जनाएको छ।
क्याम्ब्रिज एनालिटिकाका मुद्दाबारे एफटीसीले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो। अधिकारीका अनुसार अनुसन्धान फेसबुकले सन् २०११ को सहमति भंग गरे/नगरेकोमा केन्द्रित थियो ।
उक्त सहमतिअनुसार फेसबुकले अरूलाई तथ्यांक दिँदा प्रयोगकर्ताको सहमति लिनुपर्ने छ। एफटीसीका सत्तारूढ रिपब्लिकन समर्थकहरू फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाउनुपर्ने पक्षमा उत्रेका हुन्। डेमोक्र्याट पक्षधर भने जरिवानाको विपक्षमा उभिएको ‘द वाल स्ट्रिट जर्नल’ ले उल्लेख गरेको छ।
फेसबुकलाई जरिवाना रकम तिराउनुअघि न्याय मन्त्रालयको स्वीकृत आवश्यक पर्ने छ। लगानीकर्ताहरूले फेसबुकमाथि हुन लागेको जरिवानालाई सकारात्मक रूपमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। समाचार सार्वजनिक भएसँगै फेसबुकको सेयर १.८ प्रतिशतले बढेको छ ।