नेपालको अनलाइन पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तिब्र रूपमा बढ्दै गएएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीकाअनुसार २५ जनवरी २००९ बाट सेवा सुरू इसेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् ।
हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या बढेको कम्पनीको दाबी छ।
‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।