प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा शुक्रबारदेखि विज्ञापन नियमन विधेयकमाथि दफावार छलफल सुरू भएको छ।
शुक्रबार बसेको समिति बैठकले विधेयकमा भएको क्लिन फिड (टेलिभिजनमा विदेशी विज्ञापन नआउने) कार्यान्वयन गर्ने दफा पास गरेको छ।
समितिले पास गरेको दफाअनुसार पुराना सेवा प्रदायक संस्थाले क्लिन फिडमा जानको लागि ऐन कार्यान्वयनमा आएको एक वर्ष समय पाउनेछन्।
क्लिन फिडमा जान गृहकार्यको लागि १ वर्ष उनीहरूलाई समय दिइएको समिति सभापति कल्याणी खड्काले बताइन्।
नयाँ सेवा प्रदायकले ऐन लागु हुनेबित्तिकै क्लिन फिडमा जानु पर्नेछ।
पुराना सेवा प्रदायकले विदेशी च्यानलसगँ जति वर्षको सम्झौता भए पनि एक वर्ष भित्र क्लिन फिडमा जानु पर्नेछ। सम्झौता बीचमा नवीकरण गर्नु पर्ने भए स्वत: क्लिन फिडमा जानु पर्नेछ।
क्लिन फिड हटाउन केही सांसदहरुले संशोधन हालेका थिए।
तर उक्त संशोधन छलफलपछि अस्वीकृत भएको हो।
विधेयकमाथि छलफल पछि पनि सांसदहरूले फरक मत राख्न पाउने बाटो खुला छ।
प्रतिनिधि सभाबाट पास भएपछि विधेयक राष्ट्रिय सभामा पुग्नेछ। त्यहाँबाट पास भएपछि मात्र यसले कानुनी हैसियत पाउनेछ।