कुनै बेला तपाईले बोक्ने मोबाइल हातले छोएर होइन बटन दबाएर मात्रै चलाउन सकिन्थ्यो । तर समय वित्दै जाँदा मोबाइलबाट बटमको संख्या घट्दै गयो र मोबाइलमा स्क्रीनबाटनै सबै काम गर्न सकिने भयो ।
पछिल्लो समय एप्पललगायत सामसुङ तथा चिनियाँ मोबाइल उत्पादन कम्पनीहरुले फुल स्क्रीनका डिजाइनहरु बजारमा ल्याएका छन् ।
तपाईले कल्पना गर्नुभएको, कुनै बेला बटन थिचेर चलाईने मोबाइलमा बटननै हरायो भने के होला ? मोबाइल कसरी चलाउन सकिएला ?
चिनियाँ मोबाइल निमार्ता कम्पनी ओप्पोले सोमबार मात्रै सार्वजनिक गरेको काल्पनीक मोबाइलको डिजाइन यस्तै छ, जहाँ कुनै पनि बटन देखिदैन ।
‘वाटरफल स्क्रीन’ नाम दिइएको उक्त मोडलको मोबाइलमा कुनै पनि बटन राखिएको छैन । त्यतिमात्रै होइन मोबालमा क्यामेरा र स्पिकरको लागि पनि कुनै सानो भाग पनि छोडिएको छैन । मोबाइलको सबै भाग स्क्रीन मात्रै छ ।
ओप्पोले सार्वजनिक गरेको काल्पनीक तस्वीरमा पुरै स्क्रीनमा कुनै पनि अवरोध छैन । फोनको दुबै भागमा पनि कुनै पनि प्रकारको भोलुम वा पावर वटन छैन ।ओप्पोको उक्त फोनमा फ्रन्ट क्यामेराको लागि पनि अन्य कुनै उपाय गरिएको हुन सक्ने बताइएको छ । तर कम्पनीले भने त्यसको विषयमा मौन छ ।
सोमबार ओप्पोका उपाध्यक्ष ब्रायन शेनले फोनको उक्त काल्पनीक तस्वीर सार्वजनिक गरेका थिए ।
तस्वीरमा फोनको स्क्रीन हेर्दा कुनै भाडोमा पानी भरिएर पोखिएको जस्तो देखिन्छ, त्यसैले पनि फोनको नामनै ‘वाटरफल’ राखेको हो। ओप्पोको उक्त फिचर सन् २०१९ को मध्यतिर आउने बताइएको छ।