सामाजिक माइक्रो बल्गिङ साइट ट्वीटरले मंगलबार प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत तथ्याकं प्रयोग भएको हुनसक्ने जनाएको छ।
वेबसाइटको सेटिङको माध्यमबाट विज्ञापनका लागि उनीहरूको व्यक्तिगत विवरण प्रयोग भएको हुनसक्ने बताएको हो।
ट्वीटरले सो बारेमा हालै थाहा भएको र त्यस समस्यालाई सोमबार ठीक गरिएको जनाएको छ। उसले यस्तो बताएपनि यसका कारण कतिलाई असर गर्यो भन्ने बारेमा केहि बताएको छैन।
ग्राहक तथ्यांक कम्पनीहरूका लागि कहाँ विज्ञापन राख्नेर निर्णय गर्नका लागि सघाउ पुर्याउन अत्यन्त महत्वपूर्ण हुने गर्छ। यसबाट उनीहरूलाई ग्राहकहरू उनीहरूको उत्पादनमा उत्सुक होलान् भनेर निर्णय गर्ने आधार प्रदान गर्छ। उनीहरूले त्यसैको आधारमा प्रयोगकर्ताका वालमा आफ्नो विज्ञापनहरू राख्ने गर्छन्।
ट्वीटरले प्रयोग भएको हुनसक्ने भनिएको तथ्याकंमा प्रयोगकर्ताका देशको कोड र उनीहरूको विषय विशेषप्रतिको रूचि र उनीहरूले प्रयोग गर्ने उपकरणका आधारमा आउने विवरण समावेश भएको हुनसक्ने बताएको छ।
'तपाईहरूले तपाईको रोजाइ पछ्याउन हामीलाई विश्वास गर्नुभयो तर हामी यहाँ चुक्यौं', ट्विटरले आफ्नो आधिकारीक वेबसाइटमा भनेको छ।
उनीहरूले त्यसका लागि प्रयोगकर्ताहरूसँग माफी माग्दै गल्ती नदोहर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
उसले ट्वीटरको सेटिङमा रहेको विकल्पहरूले सोचे अनुसारको काम नगरेको हुनसक्ने र त्यसबाट विज्ञापनदाताहरूले बिना अनुमति सोबाट प्राप्त विवरणका आधारमा प्रयोगकर्ताको वालमा विज्ञापनहरू देखिएको हुनसक्ने बताएको हो।
पछिल्लो समय सामाजिक संजालहरूले बिना अनुमति प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण व्यापारिक फाइदाका लागि बेच्ने गरेको आरोप खेप्दै आएका छन्।
यस्तोमा ट्वीटरको यस्तो स्वीकारोक्तीलाई प्रयोगकर्ताहरूले कसरी लेलान त्यो हेर्न बाँकी छ।
(रोयटर्स)