पछिल्लो समय टेलिकमको नाफा घट्दै गएको छ। सरकारी संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउँदै आएको कम्पनीको पछिल्ला त्रैमासमा भने नाफामा उच्च गिरावट आइरहेको छ।
गत आर्थिक वर्ष कम्पनीले १० अर्ब २० करोड खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा १७ अर्ब ४८ करोड थियो। एकै वर्षमा कम्पनीको नाफा ७ अर्ब बढीले गुमेको छ।
धेरै सरकारी संस्थानहरु नोक्सानीमा रहेको र कतिपय बन्द भइसकेको अवस्थामा नाफामा आएको उच्च गिरावटले कतै टेलिकमले पनि त्यही लय त समात्ने होइन भन्ने आशंका बढाएको छ।
इन्टरनेटको माध्यमबाट कुराकानी तथा सन्देश आदानप्रदान बढ्दै जाँदा टेलिकमको व्यवसायमा असर परेको हो। अर्कोतर्फ निजी क्षेत्रका दूरसंचार कम्पनीको गुणस्तरीय सेवासँग प्रतिस्पर्धा गर्न नसक्नुले कम्पनीको व्यवसाय नै बढ्न सकेको छैन।
कम्पनीको सेवाबापतको आम्दानी घटेको छ भने खर्च बढ्दै गएको छ। जसले गर्दा कम्पनीलाई व्यवसाय विस्तारमा झनै चुनौति बढेको छ।
गत आर्थिक वर्ष सेवाबापत ३६ अर्ब ७८ करोड आर्जन गरेको छ। जवकि अघिल्लो वर्ष ३९ अर्ब आर्जन भएको थियो। कम्पनीको आम्दानी घटिरहँदा खर्च भने बढेको छ। संचालन तथा मर्मत खर्च, विदेशी विनिमयदर परिवर्तनको नोक्सानी तथा प्रशासनिक खर्च बढेको छ।
कम्पनीको सेवावापतको आम्दानी घटे पनि अन्य आम्दानी भने झिनो अन्तरले बढेको छ। कम्पनीको बैंक मौज्दात नै बढेपछि सो वापतको व्याज आम्दानी बढ्दा अन्य आम्दानीमा सुधार देखिएको हो।
गत आर्थिक वर्ष अन्यवापतको आम्दानी ६ अर्ब ६९ करोड छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब २४ करोड थियो। कम्पनीको प्रतिसेयर आम्दानीमा पनि कमी आएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६८ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११६ रुपैयाँ थियो।
कम्पनीको सेयर मूल्यमा समेत उच्च गिरावट आइरहेको छ। एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ। हाल बजार मूल्य ६७५ रुपैयाँको हाराहारीमा रहेको छ।
कम्पनीको जगेडा कोष सामान्य बढेको छ। कम्पनीको जगेडा कोषमा ८४ अर्ब ६६ करोड छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ६७८ रुपैयाँ छ।
कुल १५ अर्ब सेयर पुँजी रहेको कम्पनीको हाल ४. ४ प्रतिशत मात्रै सर्वसाधारणमा सेयर जारी छ। अहिले टेलिकममा ९१ प्रतिशत सेयर सरकारी स्वामित्वमा छ। बाँकी सेयर कर्मचारीहरुको छ। नाफाबाट सरकारलाई सबैभन्दा धेरै लाभांश दिनेमा नेपाल टेलिकम सबैभन्दा अगाडि रहँदै आएको छ।
नाफा घटिरहेका बेला सरकारले सर्वसाधारणमा सेयर थप गरेर २६ प्रतिशत पुर्याउने बताएको छ।