नेपाल टेलिकमले गएको आर्थिक वर्षमा नाफा खुम्चिनुलाई स्वभाविक भएको प्रष्ट पारेको छ। सरकारी स्वामित्वको कम्पनी टेलिकमले ग्राहकको संख्या बढेपनि नाफा घट्नुलाई मुख्यतया दुई कारण देखाएको छ।
टेलिकमले एक विज्ञप्ति जारी गर्दै गएको वर्ष नविकरण दस्तुरको पहिलो किस्तास्वरुप चार अर्ब तिरेकाले नाफामा असर परेको बताएको छ। दोस्रो अवधिको नविकरण दस्तुर स्वरुप कम्पनीले २० अर्ब तिर्नुपर्ने छ। यसको पाँच किस्तामध्ये पहिलो किस्ता गत वर्ष चुक्ता गरेको हो।
त्यस्तै कम्पनीले अर्को कारणका रुपमा सरकारले बढाएको कर हो। गएको वर्षको बजेटबाट सरकरले टेलिकम कम्पनीको संस्थागत आयकर २५ बाट बढाएर ३० पुर्याएको थियो। मुख्य यी दुई कारणले नाफा केही खुम्चिएको टेलिकमको स्पष्टिकरण छ।
यी कारण बाहेक कम्पनीको आयमै असर परेको कम्पनीको भनाइ रहेको छ।
सूचना प्रविधिको विकासले गर्दा भ्वाइस सेवा र अन्तर्राष्ट्रिय कलबाट आउने आम्दानी स्वभाविक रुपमा खुम्चिएको सन्दर्भमासमेत टेलिकमले सरकारी राजस्वमा हुने योगदान ४ अर्बले बढाएको उल्लेख गरेको छ।
'कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको छ । तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ । साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ'टेलिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सेवा विस्तारमा ठूलो लगानी भएको र यसको प्रतिफल आइनसकेको र अर्कोतिर सरकारले कर बढाउँदा पनि मूल्य नबढाएकाले पनि नाफा खुम्चिएको कम्पनीले दाबी गरेको छ।