सरकारले व्यापारसम्बन्धी सम्पूर्ण सूचना एकै थलोबाट दिने उद्देश्यले ‘व्यापार सूचना पोर्टल’ लञ्च गरेको छ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) द्वारा आयोजित एक कार्यक्रममा मन्त्री मातृका यादवले वेबसाइटको लञ्च गरेका हुन्।
आयात तथा निर्यातकर्तालाई व्यापारमा सहयोग पुर्याउने उद्देश्यले वेबसाइट निर्माण गरिएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताए।
‘हामीले व्यापार सहजीकरण गर्न वेबसाइट निमार्ण गरेका छौं, यसलाई दैनिक रूपमा अपडेट गरिरहनु पर्छ’, उनले भने, ‘समय समयमा यसलाई अपडेट गरेनौं भने वेबसाइटको केही औचित्य रहँदैन।
अन्तर्राष्ट्रिय स्तरमा भएको व्यवसायिक परिवर्तनसँगै वेबसाइट अपडेट गर्दै जानुपर्ने उनको भनाइ छ।
विकसित देशमा नेपाली उत्पादन निर्यात तथा आयात गर्न अपनाउनु पर्ने विधि तथा प्रक्रियाबारे पनि वेवसाइटबाट नै थाहापाउन सकिने इञ्जिनियर सुरेन्द्र डङ्गोलले बताए।
उनका अनुसार व्यवसाय सम्बन्धी चाहिने नियम कानून, नेपालमा उत्पादित कुन वस्तु कहाँ–कहाँ निर्यात हुने भन्ने बारे वेबसाइटबाट सहजै थाहा पाउन सकिन्छ।
वेबसाइटमा व्यवसायीले आफ्नो उत्पादनको प्रोफाइल पनि राख्न सक्ने छन्। जसले गर्दा व्यवसायीलाई बजारीकरणमा सहज हुनेछ।
कार्यक्रममा मन्त्री यादबले प्रत्येक उद्योगीलाई आफ्नो उत्पादनको प्रोफाइल वेबसाइटमा राखिदिन आग्रह गरेका छन्। ‘वेवसाइट निमार्ण गरेर मात्र हुँदैन यसलाई मुर्तता दिन निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोगको आवश्यक छ’, मन्त्री यादबले भने।
मन्त्रालयका अनुसार वेबसाइट निमार्णका लागि विश्व बैङ्कबाट १२ लाख ५० हजार अमेरिकी डलर प्राप्त भएको थियो।
वेबसाइट खोल्न http://staging.nepaltradeportal.gov.np/ne/web/guest/home लिंक प्रयोग गर्न सकिन्छ।