एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गरी एनसेलबाट प्रोत्साहन पाउने भएका छन् । धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता पुरस्कार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।
एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’ को नयाँ भर्सन ल्याएको हो ।
यो योजना सोमबार (असोज ६) बाट संचालनमा आउँदै छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद हजार पाउने छन्। त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ।
धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात् धुन सुचारु बापत ३ रुपैयाँ बोनस ब्यालेन्स पाउने छन्। त्यसपछि प्रत्येक १० एक्टिभेसनका हिसाबले ३० रुपैयाँ बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुने कम्पनीले जानकारी दिएको छ। यस्तो बोनसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ ।
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क १० (कर सहित रु १२.७७) रुपैयाँ रहेको छ ।
यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ ।
यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालन हुने छ।