एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहदाडेटा रोमिङ्ग सेवा लिन सक्ने भएका छन्। कम्पनीले अनलिमिटेड रोमिङ्ग डेटा प्याक योजनामा आजदेखि कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गरेको छ।
योसँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुका लागि अनलिमिटेड रोमिङ्ग डेटा प्याक उपलब्ध हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र १०० (१२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
यो सेवा लिनका लागि एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि *१७१२९# डायल गरि निर्देशन अनुसार सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः *१७१२९# डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।
एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक माथि उल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वा ती गन्तव्यहरुमा पुगे पछि पनि लिन सक्नेछन् । सम्बन्धित देशमा पुगेर मात्र यो डेटा प्याक लिनका लागि ग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।