अब तपाइँलाई सामान किन्दा व्यवसायीले ठगे भने विभाग धाइरहनु पर्दैन। मोबाइलबाटै आफ्नो गुनासो पठाउन सकिने छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई मोबाइलबाटै गुनासो पठाउन सक्ने एप तयार गरेको छ।
शुक्रबार मन्त्रालयमा एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले एपको प्रारम्भिक उद्घाटन गरे।
उक्त एपको नाम अहिलेका लागि ‘कञ्जुमर एप’ राखिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।
‘अहिले एपको नाम ‘कञ्जुमर एप’ राखिएको छ। पछि मन्त्रालयमा छलफल भएपछि परिवर्तन पनि हुन सक्छ’, उनले भने।
उनका अनुसार एप छठपछि पूर्ण रूपमा सञ्चालनमा आउने छ।
उपभोक्तालाई आफ्नो अधिकार संरक्षणका लागि जागरूक बनाउने उद्देश्यले सो एप सञ्चालनमा ल्याउन लागिएको महानिर्देशक गौचनले बताए।
‘उपभोक्ताले मोबाइलमा एप डाउनलोड गरेर गुनासो तथा भिडियो पठाउन सक्छन्’, उनले भने, ‘विभागले एप्रुभ गरेर त्यसको बारेमा अनुसन्धान गर्छ।’
उनका अनुसार उपभोक्ताले एपमा पठाएको गुनासोको सम्बोधन भएको वा नभएको सूचना तत्काल पठाइने छ।
उपभोक्ता गुनासो एपको कार्यान्वयनले उपभोक्ताको गुनासो संख्या बढ्ने र सोही अनुसारको कारबाहीको लागि विभाग थप सक्रिय बन्ने उनले बताए।
यसले व्यवसायीहरूको व्यवसायिक क्रियाकलाप तथा बजार क्रमशः स्वच्छ र उपभोक्तामुखी बन्दै जाने कार्यमा सघाउ पुर्याउने उनको भनाइ छ।