नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ग्रामिण क्षेत्रमा सेवा बिस्तार गर्ने भएको छ। कम्पनीले सहरबाट गाउँमा सेवा बिस्तारका लागि योजना बनाइरहेको बताएको छ।
देशका मुख्य सहरी क्षेत्रमा अहिले सेवा पुगेको र कतिपय जिल्ला सदरमुकामहरुमा पनि पुगेकाले त्यहाँबाट गाउँतिर पूर्वाधार बिकास गरिने कम्पनीका कर्पोरेट निर्देशक लक्ष्मण यादवले जानकारी दिए।
अहिले ३ लाख ५० हजार बढी ग्राहक भएको कम्पनीले गाउँमा पनि विश्वस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ।
सहरी क्षेत्रको जस्तै गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेटले नेपालका गाउँगाउँ जोड्ने अभियानमा कम्पनी अघि बढ्ने यादवको भनाइ छ।
गएको सातामात्र बेलायको कम्पनीले १ अर्ब बढी लगानी गरेको थियो।
यो बिदेशी लगानी आएपछि कम्पनीले सहरको गुणस्तर बढाउने र गाउँमा सेवा बिस्तारलाई मुख्य केन्द्रमा राखेर जाने यादबले जानकारी दिए।
मोबाइल इन्टरनेटको तुलनामा सस्तो मानिने यस्तै सेवा अहिले सहरी क्षेत्रमा मात्र केन्द्रित छ।
सेवाप्रदायकहरु गाउँमा ब्यापार नदेखेपछि जान सकिरहेका छैनन्। वर्ल्डलिंक भने जोखिम उठाएरै भएपनि गाउँ जाने योजनामा रहेको यादवको भनाइ छ।