हुवावेका सिइओ तथा संस्थापक रेन जेङफेइले गुगलबिना पनि आफ्नो कम्पनी संसारकै नम्बर एक हुने बताएका छन्। गुगलका एप तथा सफ्टवेयरबाट अलग्गिए पनि हुवावे स्मार्टफोन विश्वमै शीर्षब्रान्ड हुने उनले बताएका हुन्।
चिनियाँ कम्पनी हुवावे अहिल्यै पनि संसारको सबभन्दा ठूलो टेलीकम्युनिकेसन सामग्री निर्माता कम्पनी हो। केही समयअघि यसले दक्षिण कोरियाली कम्पनी सामसुङलाई उछिन्दै एक नम्बर स्थान हासिल गर्नै लागेको थियो। तर अमेरिकाले हुवावेलाई आफ्ना उत्पादनमार्फत् जासुसी गरेको आरोप लगाउँदै कालोसूचीमा राखेपछि यो सपना पूरा भएन। अमेरिकाको रोकावटसँगै गुगल, इन्टेल र ब्रोडकमले हुवावेलाई आफ्ना उत्पादन बेच्न छाडे।
अमेरिकी दबाबका कारण हुवावेको उक्लिँदो बजारमा धक्का खाए पनि हार मानेको छैन। हुवावेले आफ्नै अपरेटिङ सिस्टम 'हार्मोनी' र एपस्टोर पनि बनाइसकेको छ र यसमा थप काम भइरहेका छन्। अहिले हुवावेमा ४५ हजार एप मात्र डाउनलोडका लागि उपलब्ध छन्। यो भनेको गुगल प्लेस्टोरमा भन्दा धेरै कम हो। गुगलमा करिब २८ लाख एप डाउनलोड सुविधा भएको तथ्यांक विश्लेषण कम्पनी स्ट्याटिस्टाले जनाएको छ।
कम्पनीले उपभोक्ताको सुविधाका लागि सकेसम्म गुगलसँगै काम गर्न चाहेको पनि जेङफेइले बताएका छन्। तर 'ब्याकअप' योजनामा पनि काम गरिरेहको उनले बताए।
जेङफेइले नवीनतम खोजमा अझै पनि अमेरिकानै शक्तिशाली भएकाले चीन जस्तो देशलाई पनि अमेरिकालाई उछिन्न दशक लाग्ने बताएका छन्। तर अमेरिकाले उनीहरूसँग काम गर्ने कम्पनीलाई रोकतोक गरे नयाँ कम्पनीले विकल्प खोज्ने र यस्तोमा विकल्पहरू नै बलिया भएर उभिनसक्ने सम्भावना हुने उनको भनाइ छ।
'यो हामी सबैका लागि चुनौतीपूर्ण अवस्था हो। अमेरिकी सरकारले बेलैमा यसबारे बुझेर र अमेरकाको हितमा काम गरोस्,' उनले भनेका छन्।जेङफेइले 'हुवावेलाई नम्बर एक हुन कुनै समस्या नरहेको' बचाउँदै यसमा केही समय भने लाग्ने जनाएका छन्।