चिनियाँ कम्पनी हुवावेले अमेरिकी सरकारविरूद्ध मुद्दा हालेको छ।
आफ्ना उपकरणको बिक्रीवितरणमा अमेरिकाले कडाइ गरेपछि हुवावेले न्यू ओर्लियान्समा मुद्दा हालेको सिएनएनले जनाएको छ। अमेरिकाको संघीय सञ्चार आयोगले हुवावेका उपकरणमार्फत् जासुसी भएको भन्दै नयाँ नीति ल्याएर हुवावेमाथि अझै कडाइ गरेको हो।
संसारकै ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता कम्पनी हुवावे स्मार्टफोनको बजारमा पनि अग्रणी स्थानमा छ। तर पछिल्लो समय अमेरिकाकै कडाइका कारण हुवावे स्मार्टफोनको बजारमा ठूलो असर परेको छ। हुवावेलाई गुगल, इन्टेल लगायत अमेरिकी कम्पनीले साथ नदिने भएपछि उसले आफ्नै अपरेटिङ सिस्टम बनाउँदै छ।
अमेरिकाको नयाँ नीतिअनुसार अमेरिकी नागरिकले सरकारी अनुदान लिएर हुवावेका कुनै पनि उपकरण किन्न पाउने छैनन्। आफ्ना उत्पादनको बजारमा रोक लगाएको भन्दै हुवावेले मुद्दा हालेको हो।
हुवावेका प्रमुख कानुनी अधिकृत सङ लुइपिङले बिहीबार पत्रकार सम्मेलनमा अमेरिकी आयोगका अध्यक्ष अजित पाइले हुवावेलाई चिनियाँ कम्पनी भएकाले लक्षित गरेको आरोप लगाएका छन्।
'हामी चिनियाँ कम्पनी भएकाले उनीहरूले हामीमाथि कडाइ गरेका हुन्,' सङले भनेका छन्, 'हुवावेको डर बढाउन चाहेका छन् उनले। तर यो डरका पछाडि कुनै प्रमाण छैन।'
हुवावेले आयोगको नयाँ नीति गैरकानुनी भएको र हुवावेले अमेरिकाको सुरक्षामा असर पारेको भन्ने कुरामा कुनै प्रमाण नरहेको बताएको छ। अमेरिकी सरकारलाई पनि कम्पनीले यही भनेको छ।
हुवावे संसारको सबभन्दा ठूलो टेलिकम्युनिकेसन सामग्री निर्माता कम्पनी हो। केही समयअघि दक्षिण कोरियाली कम्पनी सामसुङलाई उछिन्दै एक नम्बर स्थान हासिल गर्नै लागेको थियो। तर अमेरिकाले हुवावेलाई आफ्ना उत्पादनमार्फत् जासुसी गरेको आरोप लगाउँदै कालोसूचीमा राखेपछि यो सपना पूरा भएन।
अमेरिकाको रोकावटसँगै गुगल, इन्टेल र ब्रोडकमले हुवावेलाई आफ्ना उत्पादन बेच्न छाडे। अमेरिकी दबाबका कारण हुवावेको उक्लिँदो बजारमा धक्का खाए पनि हार मानेको छैन। अहिले हुवावेमा ४५ हजार एप मात्र डाउनलोडका लागि उपलब्ध छन्।
यो भनेको गुगल प्लेस्टोरमा भन्दा धेरै कम हो। गुगलमा करिब २८ लाख एप डाउनलोड सुविधा भएको तथ्यांक विश्लेषण कम्पनी स्ट्याटिस्टाले जनाएको छ।