काठमाडौंको प्रेसिडेन्टियल विजनेश स्कुलमा शुक्रबारबाट आयोजित आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला शनिबार सम्पन्न भएको छ। लामा ५० भन्दा बढी स्टार्टअप कम्पनीहरुले विभिन्न नयाँ प्रडक्टहरु प्रदर्शनमा राखेका थिए । कार्यक्रममा इमर्जिङ टेक्नोलोजिजका विभिन्न विषयमा वर्कशप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स समेत आयोजना गरिएको थियो ।
रोबोटहरुको फुटवल प्रतिस्पर्धामा रोबोनट्स तथा कान्तिबीर समुह विजेता हुँदै २० हजार नगदसहित सिल्ड प्राप्त गरेका छन । त्यसैगरी फाइनलमा एडभान्स रोबो क्लब पहिलो रनरअप भएको छ, जसलाई सात हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र आकर्षक गिफ्ट प्रदान गरिएको छ । यसअघि विराटनगर, बुटवल र नारायणगढमा सम्पन्न भइसकेको मेला काठमाण्डौंमा विशेष सफल रहेको आयोजकले बताएको छ ।
विद्यार्थीहरुका प्रोजेक्टहरुमध्ये एनसिआइटी कलेजका विद्यार्थीहरुले बनाएको स्मार्ट होम नामक प्रोजेक्टले बेस्ट स्टुडेन्ट प्रोजेक्ट अवार्ड जितेको थियो । विजेताहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव विरेन्द्र मिश्र तथा प्रेसिडेन्टियल कलेजका अध्यक्ष लक्ष्मण केसीले पुरुस्कार प्रदान गरेका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरुले बनाएको एग्रिकल्चर ड्रोनको विशेष आकर्षण थियो । शम्भु शिवाकोटी लगायतको समुहले तयार पारेको ड्रोनले खेतीको लागि पानी सिचाई गर्न सक्छ । यसैगरी नेपालीहरुले नै तयार पारेको रकेट, नास्टको नानो सेटेलाइटको विशेष प्रदर्शनी गरिएको थियो ।
लिभिङ विथ आइसिटीले आयोजना गरेको यस प्रविधि मेलामा स्टार्टअप कम्पनीका पछिल्ला उत्पादन, विद्यार्थीले बनाएका नयाँ प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, जब फेयर तथा काउन्सिलिङ, रकेट विज्ञान तथा अन्तरिक्ष प्रविधि, नेपालको पहिलो नानो स्याटेलाइट, ड्रोन रोबट तथा नेपाली इन्नोभेसन, ब्लकचेन तथा आइओटीका उत्पादनहरुको प्रदर्शनी रहेको थियो । मेलामा ५ हजार भन्दा बढिले अबलोकन गरेका छन् ।